
तानसेन । पाल्पामा गएको तीन आर्थिक वर्षमा एक हजार बढीले सम्बन्धविच्छद गरेका छन् । पछिल्लो तीन वर्षमा एक हजार ३ सय ५६ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा एक हजार १ सय ४२ मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
जसमा आर्थिक वर्ष २०७९÷८० मा जिल्ला अदालत पाल्पामा जम्मा चार सय ४३ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएकोमा तीन सय ६२ फछ्र्यौट भएको थियो । यस्तैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार सय २८ र २०८१÷८२ मा चार सय ८५ मुद्दा दर्ता भएका थिए । जसमा आर्थिक वर्ष २०८०÷८१ मा तीन सय ७६ र आर्थिक वर्ष २०८१÷८२ मा चार सय ४ मुद्दा फछ्र्यौट भएको र बाँकी ८१ मुद्दा रहेको जिल्ला अदालत पाल्पाका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो । उहाँले सम्बन्धविच्छेदका मुद्दा वार्षिक रुपमा बढेको बताउदै बाध्यात्मक वैदेशिक रोजगारी र सूचना प्रविधिको गलत प्रयोग मुख्य कारण मान्न सकिने बताउनुभयो ।
आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति बारे पाल्पाली पत्रकारहरुलाई जानकारी गराउदै स्रेस्तेदार पराजुलीले गत आर्थिक वर्षमा कुल ८ सय १५ मुद्दा दर्ता भएकामा सबैभन्दा बढी सम्बन्धविच्छेदको मद्दा रहेको जानकारी दिनुभयो । यसका साथै वैवाहिक सम्बन्ध अन्त्यका लागि समेत २७ जना जिल्ला अदालतमा आएको बताउनुभयो ।
यसका साथै जिल्ला अदालत पाल्पाले गत आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । गत आर्थिक वर्षमा ७ सय ६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकामा ८ सय १५ वटा मुद्दा फछ्र्यौट गरी लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको अदालतका तहसिलदार तथा सूचना अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार २०८०÷८१ बाट जिम्मेवारी सरेर आएका २ सय ७० मुद्दा र नयाँ दर्ता भएका ८ सय १४ मुद्दा गरी जम्मा १ हजार ८४ मुद्दा मध्ये ८ सय १५ वटा मुद्दा फछ्र्यौट गरी कुल मुद्दा संख्याको ७५ दशमलब १८ प्रतिशत प्रगति हासिल गर्न सफल भएको बताउनुभयो ।
जिल्ला अदालत पाल्पाले पछिल्लो सयममा मुद्दा फछ्र्यौटलाई प्राथमिकताका साथ अगाडि बढाएको स्रेस्तेदार पराजुलीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७७÷७८ देखि आर्थिक वर्ष २०८१÷०८२ सम्म आउँदा वार्षिक रुपमा मुद्दा फछ्र्यौटको प्रतिशतमा वृद्धि गर्न सफल भैरहेको बताउनुभयो ।
अदालतमा हाल २ वर्षभित्रको दुईवटा मात्र मुद्दा रहेको समेत स्रेस्तेदार पराजुलीको भनाइ छ । यसका साथै जिल्लामा मेलमिलाप सम्बन्धी कार्य प्रभावकारी नभएको देखिएको छ । मेलमिलाप हुनसक्ने दुई सय ४६ मुद्दा संख्यामा मेलमिलापका लागि न्यायाधीश दलबहादुर केसीले पठाउनुभएको दुई सय ११ मुद्दामा जम्मा २६ वटा सफल भएको, एक सय ४६ असफल र ३९ वटा चालु अवस्थामा रहेको अदालत पाल्पाले जनाएको छ । कुल मेलमिलाप सम्बन्धी मुद्दामा जम्मा १७ दशमलब ८० प्रतिशत सफल रहेका पाइएको हो । पाल्पामा सूचिकृत मेलमिलापकर्ताको संख्या ३३ जना रहेकाे करूवा अर्धसाप्ताहिक पत्रिकाका समाचर प्रकाशित छ ।








