पाल्पा  प्रशासनले उठायो ५ करोड बढी राजस्व

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक वर्षमा ५ करोड ४३ लाख बढी राजश्व उठाएको जनाएको छ । पाल्पाली पत्रकारसंग बुधबार भएको भेटघाट कार्यक्रममा गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रशासन कार्यालयले विभिन्न शिर्षकबाट उक्त ५ करोड ४३ लाख १९ हजार ६ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयले सबैभन्दा बढी राजस्व राहदानी शुल्कबाट संकलन गरेको छ । गत आर्थिक वर्षमा आठ हजार ७७ साधारण र २ सय २३ द्रुत राहदानीबाट ४ करोड ८३ लाख ३० हजार रुपैयाँ संकलन गरेको हो । प्रशासन कार्यालयले अन्य प्रशासनिक सेवा शुल्क वापत पाँच सय ४० रुपैयाँ राजस्व जम्मा गरेको छ ।

यस्तै हातहतियारको इजाजतपत्र दस्तुरबाट एक लाख ४१ हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । प्रशासनिक दण्ड जरिवाना र जफतबाट १ लाख ११ हजार १ सय ५२ रुपैयाँ, परीक्षा शुल्कबाट पाँच हजार ५ सय रुपैयाँ, धरौटी सदरस्याहावापत ४ लाख ५५ हजार २ सय ३० र कम्पनी रजिष्ट्रेशन दस्तुरबाट ३ लाख १८ हजार ५ सय ५० रुपैयाँ राजस्व संकलन भएको लेखापाल सुर्यप्रसाद गैरेले बताउनुभयो ।

त्यस्तै, प्रशासन कार्यालय पाल्पाले गत आव २०८१÷०८२ मा १४ हजार ९ सय ३ जनालाई वंशजको आधारमा नागरिक वितरण गरेको छ । यस्तै वंशजको आधारमा नागरिकताको प्रतिलिपी पाँच हजार ३ सय ६ वटा जारी गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।

गत आर्थिक वर्षमा १७ जना पाल्पाका नागरिकले नेपाली नागरिकता त्याग गरेको घोषणा गरेका छन् । १२ जनाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् भने १७ वटा गैरआवासीय नागरिकताको प्रमाणपत्र जारी गरिएको सहकायक प्रमुख जिल्ला अधिकारी ऋषिरम सुवेदीले जानकारी दिनुभयो । प्रशासन कार्यालयले दुई सय ५५ वटा नावालक परिचयपत्र जारी गरेको छ । यस्तै २३ हजार १ सउ ९ वटा राष्ट्रिय परिचयपत्र प्रविष्ट गरेको र हालसम्म १५ हजार ३ सय २१ राष्ट्रिय परिचयपत्र जिल्लामा प्राप्त भएको सप्रजिअ सुवेदीको भनाइ छ । प्रशासनले गत आवमा दर्ता भएका ३७ वटा मुद्दामा सबै मुद्दाको टुंगो लगाएको उहाँले बताउनुभयो ।

यस्तै इलाका प्रशासन कार्यालय रामपुर पाल्पाले चार हजार ५९ नागरिकता वंशजका आधारमा वितरण गरेको छ । उसले एक हजार ६ सय ९२ वटा नागरिकताको प्रतिलिपी जारी गरेको छ । आठ सय ६६ वटा राहादारी वितरण गरेको छ भने तीन हजार २ सय २४ वटा राष्ट्रिय परिचयपत्र जारी गरेको इलाका प्रशासन कार्यालय रामपुरका शाखा अधिकृत उदयराज भट्टराईले जानकारी दिनुभयो । यस्तै नावालक परिचयपत्र ५१ वटा, जनजाति र दलित प्रमाणित दुई सय ६० वटा, १८ वटा नामथर प्रमाणित, ४० वटा सवारी पास र १८ वटा संस्था नवीकरणको काम गरेको शाखा अधिकृत भट्टराईले बताउनुभयो ।

प्रशासन कार्यालयमा सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै अन्य सरकारी कार्यालयलाई पनि सेवाग्राहीमैत्र बनाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । सेवा प्रवाहमा सुधार ल्याउन राहदानी र नागरिकताको लागि विद्युतीय टोकन प्रणाली लागु गरिएको, राष्ट्रिय परिचय पत्र सेवालाई सस्तो, सहज र प्रभावकारी बनाइएको छ । ज्येष्ठ नागरिक विश्राम स्थल, बजार अनुगमन, शान्ति सुरक्षा, विकास निर्माणमा सहजीकरण, लागूऔषध नियन्त्रण, विपद् व्यवस्थापनको पूर्व तयारीलगायतका विभिन्न कामहरु विशेष प्राथमिकताका साथ गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय जस्तै सेवाग्राहीमैत्री बनाउन प्रजिअ सुवेदीलाई सुझाव दिएका थिए ।

सम्बन्धित खवर