
पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमा २० करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैंया राजस्व संकलन गरेको हो ।
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले सवारीसाधन करतर्फ सबैभन्दा बढी १६ करोड ६७ लाख ४० हजार २ सय ९० रुपैंयाँ संकलन गरेको छ । त्यस्तै सवारी दस्तुरतर्फ २ करोड ७४ लाख ४८ हजार ५ सय रुपैंयाँ संकलन गरेको छ । कार्यालयले यातायात क्षेत्रको आम्दानी तर्फ २५ लाख ९२ हजार रुपैंयाँ संकलन गरेको छ भने आयकर तर्फ ५१ लाख ४० हजार १ सय रुपैंया संकलन गरेको यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले बताउनुभयो । उहाँले विभिन्न शिर्षकमा गत आर्थिक वर्षमा कार्यालयले २० करोड बढी राजश्व संकलन गरेको जानकारी दिनुभयो । विगतका वर्षहरुमा भन्दा राजस्व बढ्दो रुपमा संकलन गरिएको बताउनुभयो ।
सवारीसाधनको बढ्दो संख्या र पहाडी भेगका सेवाग्राहीको भीडकम हुँदा सेवालिन सहज हुने भएकाले राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख घिमिरेको भनाइ छ । यस कार्यालयबाट लुम्बिनी प्रदेशका मुख्यगरी पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका सेवाग्राहीलाई बढी लाभ पुग्ने गरेको उहाँले बताउनुभयो ।
यातायात व्यवस्था सेवा कार्यालय पाल्पा, लुम्बिनी प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको कार्यालय हो । वि.सं. २०७१ साल मंसिर १० गते पाल्पाको तानसेन नगरपालिकामा स्थापना भएको कार्यालय संघीय संरचना परिर्वतन भएसंग प्रदेश सरकार मातहत रुपान्तरण भएको हो । तानसेन ७ बर्तुङमा रहेको कार्यालयबाट सवारी चालक अनुमती पत्र, ब्लु बुक नविकरण, रुट परमिट नविकरण, सवारी जाँच पास, यातायात कर संकलन र अस्थायी बाटो इजाजत (पटके) पास दिने र दुई पाङग्रे सवारी साधनको चालक अनुमती पत्र वितरणलगायतका काम हुँदै आएको छ । करूवा पत्रिकाबाट







