पाल्पा ट्राफिक प्रहरीको नागरिक सुनुवाइसहित सचेतना

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई ट्राफिक सचेतना तालिम दिएको छ । तानसेन नगरपालिका वडा नं. ७ प्रभाष र तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा नागरिक सुनुवाइ कार्यक्रमसहित सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुलाई सचेतना तालिम दिइएको हो ।

तिनाउ गाउँपालिकामा ५५ जना र तानसेन नगरपालिकामा ४० जना सवारी मर्मत केन्द्रका सञ्चालक र मेकानिकहरुको सहभागितामा कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिनुभयो । उहाँले सञ्चालक र मेकानिकहरुलाई चोरी गरिएका सवारी मर्मत नगर्न, आफ्नो व्यवसाय सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न, सडकसम्मै आउने गरी र सडकमा हिँडेका सवारीलाई बाधा हुने गरी मर्मत केन्द्र सञ्चालन नगर्न सचेतना तालिममा अनुरोध गरिएको बताउनुभयो ।

कार्यक्रममा ट्राफिक नियम पालना गर्न र गराउन सवारी मर्मत केन्द्र र मेकानिकहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने ट्राफिक प्रमुख आचार्यको भनाइ छ । सवारी साधन मोडिफाई गर्दा ट्राफिक नियम उल्लंघन नहुने गरी गर्न समेत मेकानिकहरुलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । तालिममा सडक दुर्घटना भएमा ट्राफिकलाई नकुरी गाडी नम्बर टिपेर घाइतेहरुको तत्काल उद्धार गर्ने, गाडीका यात्रुले गर्ने बोमिटलगायतका फोहर गाडी भित्रै व्यवस्थापन गर्ने विषयमा सहजीकरण गरिएको थियो ।

नागरिक सुनुवाइमा ट्राफिक प्रहरी सम्बन्धी गुनासो सुनुवाइ र त्यसको सम्बोधन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यक्रममा सवारीहरुको तीब्र गति, प्रेसर हर्न, चालक तथा सहचालकहरुको मादक पदार्थ र लागुपदार्थ सेवन, आरक्षण सिट, सवारीसाधनहरुमा सामान ढुवानी गर्दा खस्ने, सार्वजनिक सवारीसाधनमा डस्ट बीन राख्ने, कोइला तथा चुनढुङ्गा बोक्ने टिप्परहरुले बाटोमा खसाल्ने, गस्ती बढाउनुपर्नेलगायतका विषयमा नागरिकहरुले चासो राखेका थिए ।

तिलोत्तमा माध्यमिक विद्यालयका शिक्षक शिव पाण्डेयले ट्राफिक प्रहरी कार्यालयले गर्ने यस्ता खालका सचेतना तालिम र सुनुवाइले नागरिक र प्रहरी बिचको सम्बन्ध प्रगाढ हुने भन्दै ट्राफिक नियमको पालना र दुर्घटना न्यूनीकरणमा ठुलो भूमिका खेल्ने बताउनुभयो । उहाँले यस्ता खालका कार्यक्रम जिल्लाका सबै स्थानमा हुनुपर्ने बताउनुभयो ।

तिनाउ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष चित्र बहादुर थापाले स्थानीय तहको समन्वय र सहकार्यमा सबै नागरिकहरुलाई ट्राफिक सचेतना दिने कामको निरन्तरता दिइने बताउनुभयो । तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनालले ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले स्थानीय सरकार संग समन्वय गरेर सचेतना तालिम सञ्चालन गर्नु सकारात्मक विषय भएको बताउनुभयो । उहाँले सुनुवाइको आयोजना गरेर नागरिकहरुले प्रहरीलाई सुझाव दिने अवसर सिर्जना गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

केही समय अघि मात्र पाल्पा आउनुभएका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक आचार्यको सक्रियातामा एकै दिन दुई स्थानमा नागरिक सुनुवाइ तथा सचेतना कार्यक्रम भएको हो ।

सम्बन्धित खवर