स्वास्थ्य प्रर्वद्धन सम्बन्धी पैरवी कार्यक्रम

पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा मिडियाकर्मीका लागि स्वास्थ्य प्रर्वद्धन सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ ।
मिडियाकर्मी समाजका सूचनाका स्रोत रहेकोले जनताको विचार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएको हुँदा स्वास्थ्य प्रवद्र्धन सम्बन्धी पैरवी कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । उहाँले आफ्नो प्रस्तुति राख्दै मिडियाकर्मीलाई स्वास्थ्य प्रवद्र्धन सम्बन्धी पैरवी कार्यक्रमले सामाजिक सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मिडियाकर्मीहरूले जनस्वास्थ्यका विषयहरूलाई प्राथमिकतामा राखेर समाचार, लेख, र संवाद कार्यक्रममार्फत जनतालाई स्वास्थ्य सचेतना दिने गरेकोले पैरवी कार्यक्रमले थप प्रभावकारी बनाउने निमित्त प्रमुख पोखरेलको भनाइ थियो । उहाँले स्वास्थ्य सम्बन्धी जानकारी वैज्ञानिक, तथ्यमा आधारित र सटीक हुनुपर्ने बताउदै यस्ता विषयमा रिपोर्ट गर्ने पत्रकारलाई सही स्रोत, तथ्य र नीति बुझाउन पैरवी कार्यक्रमले सघाउ पुग्ने बताउनुभयो । विगतदेखि नै पाल्पाली मिडियाकर्मीहरुको सहयोगका कारण विभिन्न स्वास्थ्यका अभियान सफल भएको निमित्त प्रमुख पोखरेलले बताउदै स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रचाप्रसार गर्नका लागि कार्यक्रम सहयोगी बन्ने बताउनुभयो ।

स्वास्थ्य संस्थाबाट उपचारात्मक, पुनस्थापनात्मक, प्रशामक, प्रतिकात्मक र प्रवद्र्धनात्मक सेवा प्रवाह भैरहेकोले यस विषयमा आमनागरिकलाई सही सूचना दिने र सेवा लिने वातावरण निर्माणमा पत्रकारहरुको भूमिका महत्ववपूर्ण हुने स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुधन भट्राईले बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्य सुधारका लागि राज्यले ठुलो लगानी गरेकोले निशुल्क रुपमा उपलब्ध हुने सेवा सहज रुपमा लिनका लागि अझै पनि नागरिकमा सूचना अभाव रहेको बताउनुभयो । जसका लागि मिडियाकर्मी र स्वास्थ्यकर्मीको सहकार्य अवाश्यक उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाको स्वास्थ्य कार्यालय मिडियामैत्री रहेकोले नै हरेक स्वास्थ्यका अभियानहरु सफल भएको बताउनुभयो । उहाँले समन्वय र सहकार्य भएकोले मिडियाकर्मीको सहयोग रहेको बताउदै गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अहिलेसम्म भएका कार्यको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सेनाले मिडियाले सहयोग गरेकै कारण स्वास्थ्य कार्यालय पटक पटक पुरस्कृत भएको बताउनुभयो । उहाँले सबै खाले स्वास्थ्य सेवा आमनागरिकले सहज रुपमा प्राप्त गर्ने सुनिश्चित हुनेगरी काम गर्न आग्रह समेत गर्नुभयो ।

सम्बन्धित खवर