
पाल्पा । जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीको ७४ औं जन्मजयन्ती पाल्पामा मनाइएको छ ।
मदनभण्डारी फाउण्डेसन पाल्पाले शुक्रबार पाल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरणसहित अन्तक्रिया गरेर मदन भण्डारीलाई स्मरण गरेको फाउण्डेसन पाल्पा अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । सोही अवसरमा फाउण्डेसनका सदस्यहरुले पाल्पा अस्पतालको सेवा प्रवाह र नयाँ बन्दै गरेको भवनको पनि निरीक्षण गरी सेवा प्रवाह बिरामीमैन्त्री बनाउन अस्पताल प्रशासनलाई आग्रह गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले पाल्पा अध्यक्ष तथा फाउण्डेसनका पदेन संरक्षक ओमबहादुर घर्ती, उपाध्यक्ष विमल काफ्लेलगायतको उपस्थिति रहेको थियो । मदन भण्डारी फाउण्डेसन पाल्पाले आउँदा दिनमा युवामैन्त्री डिजिटल कार्यक्रमहरु गर्ने कार्ययोजना रहेको र अहिले फाउण्डेसन सदस्यता विस्तारको क्रममा रहेको अध्यक्ष आत्रेयले जानकारी दिनुभयो ।
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका एकजना प्रखर अगुवा र कम्युनिष्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार हुनुहुन्थ्यो । उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो अर्थ राख्दछ । सामन्तवाद विरोधी आन्दोलनका अगुवा र कम्युनिष्ट आन्दोलनका एक प्रसिद्ध नेता मदन भण्डारीले अघि सारेको विचारले तात्कालीन नेकपा (एमाले) मा वैचारिक मार्गदर्शनको काम गरेको थियो । पार्र्टीभित्र नयाँ जनवादको बहस चलिरहेका बेला भण्डारीले वैधानिक संघर्ष र राजनीतिक प्रतिस्पर्धामा जोड दिनुभएको थियो । नेकपा (एमाले) को २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनले मदन भण्डारीको प्रस्तावलाई जनताको बहुदलीय जनवादका रुपमा अनुमोदन गरेको थियो ।
भण्डारी पोखरामा पार्टीको कार्यक्रम सकेर चितवनमा अखिल नेपाल महिला संघको जिल्ला अधिवेशनलगायत तराईको पार्टीको काममा जाँदै गर्दा दासढुंगामा २०५० साल जेठ ३ गते दुर्घटनामा परी मृत्यु भएको हो । जननेता मदन भण्डारीको जन्म पूर्व पहाडको ताप्लेजुङमा पिता देवप्रसाद भण्डारीका माइलो छोरोका रूपमा शिक्षित परिवारमा २७ जुन, १९५२ मा भएको हो । भण्डारी ताप्लेजुङमा सामान्य पढाइ सकेपछि आचार्यसम्म र एमए गर्न बनारस विश्वविद्यालय पुग्नुभएको थियो । उहाँले २ वटा विषयमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको थियो ।








