ढुंगा चोर्ने ठेकेदारलाई तिनाउको ५० हजार जरिवाना

पाल्पा । अबैध रुपमा तिनाउ खोलाबाट ढुंगा चोर्ने ठेकेदारलाई तिनाउ गाउँपालिकाले ५० हजार जरिवाना तिराएको छ ।

जिल्लाको विपद् व्यवस्थापन समितिको निर्णयविपरीत खोलामा जेसीबी र ट्याक्टर लगेर ढुंगा निकाल्ने निर्माण कम्पनी भगवती कन्स्ट्रक्सन, बुटवललाई गाउँपालिकाले जरिवाना तिराएको हो । गत जेठ २० गते सबै गाउँपालिकाको उपस्थितिमा भएको बैठममा असार १ गतेदेखि खोलामा डोजर, एक्स्काभेटर, ट्याक्टर, टिपर लैजान नदिने निर्णय गरेको थियो ।

निर्णय विपरित तिनाउ गाउँपालिका–५, चर्चरे र गौडे पुलबीचको भाग कालिमाटी तल खोलामा भगवती कन्स्ट्रक्सन, बुटवलको अबैध रुपमा ढुंगा निकाल्न प्रयोग गरिएको एक्स्काभेटर नियन्त्रणमा लिएर जरिवाना लिइएको गाउँपालिका राजस्व शाखा प्रमुख निरञ्जन लामिछानेले जानकारी दिनुभयो ।

निर्माण व्यवसायीले खोलामा अबैध रुपमा एक्साभेटर, ट्याक्टर प्रयोग गरी ढुंगा निकासी गरेको सूचनाका आधारमा आइतबार बिहान गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ र ५ नं. वडाका वडा सदस्य मानबहादुर दर्लामी खोलामै पुगेर एक्स्काभेटरको चाबी नियन्त्रणमा लिएपछि अबैध काम गर्ने निर्माण व्यवसायीलाई आर्थिक ऐन अनुसार जरिवाना तिराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।

अहिले सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्डमा सडक डिभिजन कार्यालयमार्फत चर्चरे नजिकै प्लम कंक्रिट वाल लगाउने कामसहित केराबारी, पानीमिल, सिसुवा, कालीमाटीलगायतका स्थानमा ढलानसमेत गर्ने गरी एक करोड ३१ लाख ६९ हजारमा असार १५ गते काम सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीको भौतिक प्रगति समेत सन्तोषजनक छैन ।

प्राकृतिक स्रोत साधन सार्वजनिक सम्पती भएको र यसको संरक्षण र संर्वद्धन गर्ने विषय पनि सार्वजनिक भएकोले नदिजन्य पर्दाथको अबैध चोरी निकासी कार्यको निगरानी सबैले गर्नुपर्ने तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बिच गाउँपालिकाले नदिजन्य पर्दाथको चोरी निकासीमा उच्च निगरानी गर्दै आएको भएपनि लुकीछिपी हुने यस्ता गतिविधिलाई हटाउन आमनागरिकले रचनात्मक सहयोग गर्नुपर्ने बताउनुभयो । घटनाको विषयमा सत्य तथ्य नबुझेर सामाजिक सञ्जालमा प्रचारबाजी गर्दैमा समस्या समाधान नहुने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउदै जिम्मेवार नागरिक भएर नदिजन्य पर्दाथको अबैध चोरी निकासी रोक्नका लागि गाउँपालिकालाई सकारात्मक सहयोग सबैले गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय