
पाल्पा । माथागढी गाउँँपालिकामा व्यवसायिक कृषकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ ।
कृषि उत्पादनमा वृद्धि, माथागढी गाउँपालिकाको समृद्धि अभियानलाई सार्थक बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदानका कार्यक्रम सञ्चालन गर्दा व्यवसायिक कृषकहरुको संख्या बढ्ेको हो ।
खेतीका विषयमा सामान्य ज्ञान सीप र प्रविधिको अभावमा लगानी अनुसार प्रतिफल लिन नसकेका कृषकहरुलाई गाउँपालिकाले आवश्यक सहयोग उपलब्ध गराएपछि कृषिबाट फाइदा लिन सक्षम भएपछि कृषिकहरु कृषि कर्ममा उत्साहित भएर लागि परेका हुन ।
गाउँपालिका २ नं. वडा रुप्सेका कृषक कमल सूर्यवंशीले व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले उहाँको परिवारको खर्च चल्ने गरेको छ । ८ रोपनी बढी जग्गामा तरकारी खेती गरेर वार्षिक रूपमा २० लाखसम्म आम्दानी गर्दै आएको सूर्यवंशीको भनाइ छ । उहाँले हाल २० वटा टनेलसहित अन्य खुल्ला ठाउँमा खेति गर्दै आउनुभएको छ । यस्तै अर्का कृषक टोप बहादुर ढेंगाले पनि काक्रा, तितेकरेलालगायतका तरकारी बालीको उत्पादनबाट आम्दानी गरिरहनुभएको छ । परम्परागत शैलीमा गुजाराका लागि गर्ने तरकारी खेती गाउँपालिकाको सहयोग पाएपछि आम्दानी प्रतिवर्ष बढ्दै गएको बताउनुभयो । गाउँपालिकाले उत्पादित कृषि उपजको बजारीकरण र थप अनुदानका कार्यक्रम चलाउनुपर्ने कृषक ढेंगाको भनाइ छ ।
कृषकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै पकेट क्षेत्र विस्तार, आधुनिक प्रविधि, कृषि यन्त्र, उपकरण, बीउ बिजन, विषादी, मलखादका लागि ५० देखि ७५ प्रतिशत सम्म अनुदानको व्यवस्था गरेर व्यवसायिक रुपमा कृषि गर्ने वातावरण तयार गरिएको कृषि शाखा प्रमुख गौतम थापाले बताउनुभयो । उहाँले गाउँपालिकाले एक वडा, एक उत्पादनलाई जोड दिएर वडा वडामा कृषि प्राविधिक परिचालन गरेर कृषकलाई नयाँ प्रविधि सिकाउने गरेकोे बताउनुभयो ।
माथागढी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले कृषकलाई व्यावसायिक बनाइ स्वरोजगारको अवसर सिर्जना गर्नका लागि गाउँपालिकाले प्रति वर्ष कृषिमा बजेट वृद्धि गर्दै लगेको बताउनुभयो । उहाँले “गत वर्ष कृषिमा ५० लाख बजेट विनियोजन भएकोमा चालु आर्थिक वर्षमा बजेट वृद्धि गरेर ६० लाख पु¥याइएको बताउनुभयो । कृषिको उत्पादकत्व बढाउन र कृषिबाटै नागरिकलाई आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले विभिन्न अनुदानका कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाइ छ । उहाँले कृषिबाट जीविका चलाउने कोही कृषक सहयोगबाट नछुटाउने गरी ८ वटै वडामा किसान सूचिकरण गर्ने काम भएको र आगामी आर्थिक वर्षमा किसान परिचय पत्र वितरण गरिने जानकारी दिनुभयो ।
गाउँपालिकाको कृषि कार्यक्रममार्फत कृषि प्राविधिकहरु घरघरमा पुगेर प्रविधि सिकाउन थालेपछि कृषि कार्यमा कृषकको उत्साह बढ्दो अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । उहाँले कृषकलाई कृषि बिमा, कृषि यन्त्र तथा उपकरण वितरण, प्राङ्गारिक र रासायनिक मल, माटो परीक्षणसहित कृषि अनुदानको व्यवस्था गर्दै आएको बताउनुभया । आवश्यकता अनुसार बीउ बिजन, ट्याङ्की, तरकारी टिप्ने क्यारेट, थोपा सिँचाई, पाइप, प्लाष्टिक टनेल आदि क्षेत्रमा सघाउदै आएकोले व्यवसायिक कृषक संख्या, उत्पादन र उत्पादकत्वमा वृद्धि भएको अध्यक्ष चिदीको भनाइ छ ।
( जनतासंग माथागढी)








