
पाल्पा । माथागढी गाउँपालिकाले सबै वडाका ग्रामीण भेगसम्म यातायातको पहुँच विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । सो्ही अनुसार चालु आर्थिक वर्षमा माथागढी गाँउपालिका ८ नं. वडा बहादुरपुरको माथिल्लो बेतेनीमा पहिलो पटक गाडी पुगेको छ ।
पूर्वखोलाको साठीकोलदेखि बहादुरपुरको बाघमारा जाने सडक छिचोलिएपछि बेतेनीमा गाडी पुगेको हो । गाउँपालिका आर्थिक सहयोग र स्थानीय जनताको श्रमदानबाट गत वर्र्षदेखि निर्माण सुरु गरिएकोे बाघमारा – बेतेनी सडकको बाँकी सात सय ४० मिटर सडक खन्ने काम चालु आर्थिक वर्षमा सम्पन्न गरी बेतेनीमा गाडी जाने अवस्था तयार गरिएको हो । सडक निर्माण भएसंगै बेतेनीमा साना सवारीका साधनहरु चल्न सुरु भएको छ । जसले स्थानीय नागरिकलाई धेरै सहज भएको छ ।
गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले गाउँपालिकाले जनताको सहजतालाई पहिलो प्राथपमकता राखेर सडक पूर्वाधारमा लगानी गर्दै आएको बताउनुभयो । उहाँले बेतेनी गाउँमा सडक लैजान असम्भव छ भन्ने कुरालाई स्थानीयवासी, उपभोक्ता समितिले गरेको धैर्यता र आँटका कारण बाघमारा–बेतिन–साठीकोल मोटरबाटो निर्माण सफल भन्दै खुसी व्यक्त गर्नुभयो । माथिल्लो बेतेनीमा करिब १५ घरधुरी परिवारको बसोबास छ । विकट गाउँमा सडक संजाल जोडन सफल भएका छौं । बाघबारदेखि माथिल्लो बेतेनीसम्म गाडी पुगेकोले हिडडुलका साथै स्वास्थ्य समस्या, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज विक्री वितरण गर्न सहज हुने विश्वास अध्यक्ष चिदीको छ । अहिले हामीले सडक छिचोल्न सफल भएका छौ । यसको थप स्तरोन्नतिका लागि गाउँपालिकाले संघ, प्रदेशसंग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
मोटरबाटोबाट बन्चित भएर दैनिक आवाजजावत र आपतकालीन अवस्थामा समेत कष्टकर पैदल यात्रा गर्नुपर्ने समस्या समाधानका लागि गाँउपालिकाले बेतनीको मोटरबाटो निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका प्रवक्ता तथा भौतिक पूर्वाधार समितिका संयोजक शंकर दर्लामीले बताउनुभयो । उहाँले बेतेनीमा सडक पूर्वाधार जोडन सफल भएका छौ । समग्र गाउँपालिका भित्रका नागरिकलाई सहज यातायातको पहुँच वृद्धिका लागि गाउँपालिकाले योजनाबद्ध रुपमा काम गर्दै आएको बताउनुभयो ।
आर्थिक वर्ष २०८१।८२ मा गाँउपालिकाको दश लाख र स्थानीयवासीको एक लाख १२ हजार बराबरको श्रमदानमा खन्न बाँकी मोटरबाटो पूरा गरिएको उपभोक्ता समितिका अध्यक्ष नारायण सिंह ठाडाले बताउनुभयो । मोटरबाटो गाउँमा पुगेपछि सामान ल्याउन र उत्पादतका समान विक्री गर्न लैजान डोको बोकेर जानु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ ।
गत वर्ष माथागढी गाउँपालिकाबाट दश लाख बजेटमा नौ सय ५० मिटर, प्रदेशको दश लाखबाट पाँच सय मिटर मोटरबाटो खनिएको र यस आर्थिक वर्षमा गाउँपालिकाबाट दश लाख र स्थानीयको श्रमदान गरी ११ लाख १२ हजारमा माथिल्लो बेतेनी पुग्ने मोटरबाटो छिचोलिएको गाउँपालिकाका इन्जिनियर धर्मेन्द्र कुमार यादवले बताउनुभयो ।
गाउँमा मोटरबाटो पुगेपछि स्थानीय खुसी भएका छन् । गाउँपालिकामा चिदी नेतृत्वको सरकार बनेपछि सडक पूर्वाधार, खानेपानीलगायतका क्षेत्रमा सहज भएको स्थानीयवासी कल्पना बरालले बताउनुभयो । उहाँले पैदल हिड्न पनि समस्या भएको ठाउँमा गाडी चल्ने अवस्था भयो । जसले गर्दा स्वास्थ्य चौकी पुग्न, विद्यार्थी विद्यालय जानआउन र कृषि उत्पादन बेच्न लैजान भोग्नु परेको कठिनाइको अन्त्य भएको बरालले बताउनुभयो । ( जनतासंग माथागढी)







