माथागढी पूर्ण संस्थागत प्रसूति र पूर्ण खोप सुनिश्चतता गाँउपालिका

पाल्पा । माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्ण खोप सुनिश्चतता गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिका भित्र रहेका गर्भवती महिलाहरु सत प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी भएको रेर्कडका आधारमा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरिएको हो । माथागढी गाउँपालिकामा गएको आर्थिक वर्ष ०८०/८१ मा दुई सय ४० जना गर्भवती महिला रहेकोमा दुई सय ४० जना नै स्वास्थ्य संस्थामा सुत्करी भएको र चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा एक सष् ७० जना गर्भवती महिला मध्ये एक सय ७० जना नै स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्याँकका आधारमा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । उहाँले निरन्तरताको लागि प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यस्तैगरी गाउँपालिका भित्र रहेका ० देखि १५ महिनाका बालबालिका दुई सय ८१ जना नियमित खोप सेवामा रहेको र १६ देखि ५९ महिनाका बालबालिका एक हजार १५ जना सबैले पूर्ण खोप पाएको सुनिश्चित गरेर वडा र पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

घोषणा सभा कार्यक्रममा पहिला गाउँपालिकाले वडाहरुलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्ण खोप सुनिश्चतता वडा घोषणा गर्दै गाउँपालिका अध्यक्ष तथा गाउँपालिका स्तरीय खोप तथा प्रजनन् स्वास्थ्य समन्वय समितिका संयोजक यम बहादुर चिदीले सम्बन्धित वडा अध्यक्ष र स्वास्थ्य संस्था प्रमुखलाई घोषणाको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । यसका साथै जिल्ला खोप समन्वय समितिका, जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले माथागढी गाउँपालिकाका अध्यक्ष चिदीलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्ण खोप सुनिश्चतता गाउँपालिकाको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।

माथागढी गाउँपालिका अन्तरगतका वडाहरुले २०८१ को माघ र फागुनमा घरधुरी सर्बेक्षण गरी तथ्याङ्क संकलन गरेर वडामा कुनै पनि बालबालिका खोप सेवा बाट बञ्चित नभएको र पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा रहेकोले गाउँपालिकालाई वडाहरु पूर्ण खोप सुनिश्चित घोषणाको लागि अनुरोध गरे अनुसार माथागढी गाउँपालिका स्तरीय खोप तथा प्रजनन् स्वास्थ्य समन्वय समितिले काम अगाडि बढाएको स्वास्थ्य शाखा संयोजक केशवबहादुर जिसीले जानकारी दिनुभयो । उहाँले वडा भित्र खोप नछुटेको र पूर्ण संस्थागत प्रसूति सेवा लिएको अवस्था सुनिश्चित भएकोले वडा घोषणाको लागि मापदण्ड पूरा गरेकोले पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्ण खोप सुनिश्चतता वडा घोषणा गर्ने निर्णय गरिएको बताउनुभयो । सोहि अनुसार जिल्ला खोप तथा प्रजनन् स्वास्थ्य समन्वय समितिलाई गाउँपालिकालाई समेत पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्ण खोप सुनिश्चतताका लागि अनुरोध गरिएकोले एकैदिन गाउँपालिका र वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त र पूर्ण खोप सुनिश्चतता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जिसीले बताउनुभयो । ( जनतासंग माथागढी)

सम्बन्धित खवर