
पाल्पा । माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तीव्र रुपमा भैरहेको छ । केही समय अधि शिलान्यास गरिएको भवन निर्माणको कामलाई गाउँपालिकाले तीव्रता दिएको हो ।
संघीय संरचना अनुसार २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित गाउँपालिकाको नेतृत्वले भवनका लागि आवश्यक जग्गा टुंगाउन नसकेपछि स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित यमबहादुर चिदीको नेतृत्वले जग्गा व्यवस्थापन गरी भवन निर्माण सुरू गरेकाे हाे ।
भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय विष्णुकुमारी जिसीबाट ४ रोपनी, स्यामबहादुर जिसीबाट ३ रोपनी र मीनाकुमारी जिसीबाट १ रोपनी ८ आना १ पैसा जग्गा चिउरेमाटीमा प्राप्त भएपछि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर भवन निर्माण कार्य थालिएको गाउँपालिकाले जनाएको छ । उक्त जग्गामा तीन तले प्रशासकीय भवन र एउटा सभा हल निर्माणका लागि छ करोड ७६ लाख ८५ हजार ४ सय ८८ रुपैयाँमा सनिरिसा जेनिसा साहिल जेभी बौद्ध काठमाडौंले ठेक्का पाएको छ । आउँदो २०८३ साल चैत्र २२ गते निर्माण सम्पन्न गर्ने गरी २०८१ साल चैत्र २२ गते ठेक्का सम्झौता भएको इन्जिनियर धर्मेन्द्र कुमार यादवले बताउनुभयो । उहाँले लिफ्टसहितको भवन र तीन सय जना अटने क्षमताको सभाहल, पर्खाल र मेन गेटसमेतको काम गर्ने बताउनुभयो ।
गाउँपालिकाको पहिलो नेतृत्वले प्रशासकीय भवन किसान माध्यमिक विद्यालयको जग्गामा बनाउने गरी प्रक्रिया अगाडि बढाएको थियो । विद्यालयको सार्वजनिक जग्गामा माटो परीक्षण गरी डिपीआर तयार गरेर टेण्डर आह्वान गरेको गाउँपालिकाले काम अगाडि बढाउन नसक्दा प्रशासनिक भवन निर्माणमा ढिलाई भएको थियो । गाउँपालिकाको नाममा विद्यालयको जग्गाको लालपूर्जा बनाउनका लागि आवश्यक प्रक्रिया मिलाएर मन्त्रीपरिषद्बाट टुंगाउने प्रयास पछिल्लो समय अध्यक्ष चिदी नेतृत्वले पटक पटक प्रयास गरेपनि कानुनी रूपमा सम्भव नभएकोले विकल्पका रूपमा नयाँ जग्गा प्राप्तीको प्रक्रिया थालेर अहिले भवन निर्माण हुने अवस्था तयार भएको प्रवक्ता श्रकर दर्लामीले बताउनुभयो । माथागढी ४ झडेवामा बन्ने भवनको लागत ६० प्रतिशत स्थानीय पूर्वाधार विभाग र ४० प्रतिशत गाउँपालिकाको साझेदारीमा निर्माण हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाको सुविधा सम्पन्न भवन नहुँदा सहज रुपमा सेवा प्रवाहमा समस्या हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत राप्रसाद घिमिरेले बताउनुभयो । उहाँले प्रशासकीय भवन नहुँदा अहिले विषयगत शाखाहरु विभाजन भएर काम गर्नुपर्ने अवस्था रहेको सोत बताउनुभयो । जसले गर्दा सेवा प्रदायक र सेवाग्राहीहरुलाई कार्यसम्पादनमा समस्या छ । अन्य स्थानमा कार्यालयहरु व्यवस्थापन गर्दा खर्च समेत बढेको छ । एकै प्रकृतिका सेवाहहरु फरकफरक स्थानबाट दिनुपर्दा सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ । भवन निर्माण कार्य सकिएपछि एकीकृत रुपमा सेवा प्रवाह गर्न पाइने भएकोले प्राथमिकतामा साथ भवन निर्माणको काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको भनाइ छ । ( जनतासंग माथागढी)