
पाल्पा । रम्भा गाउँपालिकाको रिमिघा वन क्षेत्र ( रिमिघा लेकमा) सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
यस वन क्षेत्रमा यार्चागुम्बा प्रजातीको जडिबुटी भेटिएको र सोको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुदाँ अर्को सूचना नभएसम्मको लागि उक्त क्षेत्रमा प्रवेश नगर्नु,नगराउनुहुन भन्दै गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनाको बर्खिलाप गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आइतबार जारी प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।
रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा पोसपाखा सामुदायिक वन क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बा जस्तै देखिने ढुसी प्रजातिका वनस्पति भेटिएपछि प्रयोगशालामा पठाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाको बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्दै गर्दा यार्चागुम्बा जस्तो देखिने जडिबुटी भेटिएको हो ।
डिभिजन वन कार्यालयले वनका कर्मचारीलाई खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइने डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो ।