केम खार्चा मार्गको भौतिक प्रगति ३७ प्रतिशत बढी

पाल्पा । निस्दी गाउँपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको गौरवको योजना केम खाम्चा मार्गको भौतिक प्रगति ३७ प्रतिशत भन्दा बढी भएको छ । गाउँपालिकाको अन्तरिक आयश्रोत र समपुरक बजेटमा काम हुनेगरी ठेक्का सम्झौता भएर ज्यामिरेदेखि बाकामलांगको खुट्टेसम्मको सडकको करिब ४३ किलोमिटर मध्य १४ किलोमिटरको स्तरोन्नति कार्य गर्ने गरी सुरु भएको योजनाको काम तीव्र रुपमा अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले संघ र प्रदेश सरकारले काम गर्ने खण्ड बाहेक होङ्सी चोक, मित्याल, खादर, भाङबारी, बाकामलाङ र खुट्टे क्षेत्रमा काम गर्नेगरी महेश इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लि. बर्दघाट ४ नवलपरासीसंग ठेक्का सम्झौता गरेको काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो । उहाँले गाउँपालिकाको २० करोडको योजना प्रतिस्पर्धामा १५ करोड ६४ लाख ६९ हजार ८ सय ३९ रुपैंयाँ ८९ पैसा भ्याट र पिएस सहित २०८० साउन १३ गते निर्माण व्यवसायीसंग ठेक्का सम्झौता भएको बताउनुभयो । सम्झौता अनुसार निर्माण व्यवसायीले २०८२ कार्तिक १२ गतेसम्ममा योजनाको काम सम्पन्न गर्नुपर्ने छ ।

गाउँपालिकाका इन्जिनियर सञ्जय खनालका अनुसार २७ हजार ४ सय ३२ दशमलव ५० घनमिटर अर्थात लगभग ३५ देखि ४० किलोमिटर माटो खन्ने कार्य, ९ हजार २ सय ९१ घनमिटर अर्थात लगभग १२ देखि १४ किलोमिटर ग्रावेल गर्ने कार्य, १ हजार ५ सय ८८ घनमिटर मेसीनरी वाल उठाउने कार्य, १ हजार ५ सय ८१ घनमिटर ग्याविन भर्ने कार्य हुने छ । त्यस्तै ५ हजार ४७ दशमलव ९३ घनमिटर प्लम वालको कार्य, १ सय ५० मिटर ह्यूम पाईप, ३ सय ४९ घन मिटर एम १५, टिएमटी रड १०.४७ टन र सोलिङ गर्ने कार्य ४ सय १३ घनमिटरको काम गर्नु पर्नेमा अहिले बाकामलांगमा नाली निर्माण, पर्खाल निर्माण तथा ग्रावेलको तयारी भैरहेको छ भने मित्याल–झ्याल्टुंग र ज्यामिरे खण्डमा नाली, पर्खाल, र ग्याबिन निर्माण र कटिंगको काम भैरहेको छ ।

गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले निस्दी पहाडै पहाडको गाउँपालिका भएको र एउटा वडा बाट अर्को वडामा जान निकै कष्ठकर भएकाले पहिलो प्राथमिकतामा सडकलाई राखेर काम गरेको बताउनुभयो । गाउँपालिकाका अधिकांश वडाहरु समेट्ने गरी निर्माण भएको केम खाम्चा मार्ग स्तरोन्नति भएपछी सहड पहुँचमा वृद्धि हुने अध्यक्ष सारुको विश्वास छ । यसका साथै नागरिकलाई गाउँपालिकाका सेवा लिन आउन सहज हुनुका साथै यहाँका कृषि उपज तथा अन्य कच्चा पदार्थ र उत्पादित सामग्री विक्री वितरणका लागि निकै सहज हुने अध्यक्ष सारुको भनाइ छ ।

गाउँपालिकाका धेरैजसो स्थानमा वर्षाको समयमा ३ देखि ४ महिना सडक अवरुद्ध हुँदा आवतजावतमा निकै समस्या हुने गरेको छ । वर्षाको समयमा एम्बुलेन्स समेत आवतजावत गर्न नमिल्ने गरी सडक बिग्रने गरेको विगत सम्झँदै गाउँपालिका अध्यक्ष सारुले बाह्रै महिना नागरिकले सडकको उपयोग गर्न सक्ने अवस्था सुनिश्चित गर्न आन्तरिक आम्दानीबाटै काम गरिएको जानकारी दिनुभयो । यो मार्गको स्तरोन्नति सम्पन्न हुँदाँ निस्दी गाउँपालिकाका १,२,३,४,७ नं. वडाका नागरिकले पूर्णरुपमा र ६ नंं वडाका नागरिकले आंशिक रुपमा फाइदा पुग्ने सूचना अधिकारी अर्जुन खनालले बताउनुभयो । करूवा पत्रिकाबाट

सम्बन्धित खवर