
पाल्पा । रिब्दीकोट गाउँपालिकाको चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ मा कार्यालयवाट सम्पादन भएका योजना तथा कार्यक्रमको समग्र प्रगति प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले राख्नुभएको थियो । उहाँले हालसम्म गाउँपालिकाको चालु तथा पुजिगत गरी कुल ५५ दशमलब ९९ प्रतिशत बजेट खर्च भएको जानकारी गराउनुभयो । यस्तैगरी आन्तरिक आम्दानीको लक्ष्य अनुसार गाउँपालिकाले ८० दशमलब ६९ प्रतिशत संकलन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनुभयो । उहाँले मोटरबाटो कालोपत्र, स्तारोन्नति, भवन निर्माण, खेलमैदान, पर्यटन पूर्वाधारलगायतको क्षेत्रमा भएको कामले गर्दा ६० प्रतिशत माथि भौतिक प्रगति भएको बताउदै गाउँपालिका भित्र उपभोक्ता समितिमार्फत ४ करोड बराबरको योजनाहरु सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी गराउनुभयो ।
यस्तै कृषि क्षेत्रमा यस आर्थिक वर्षमा तीन सय २४ रोपनी बाझो जग्गामा खेति विस्तार, एक सय २५ रोपनीमा सुन्तलाको क्षेत्र विस्तार गरिने, कृषकलाई प्रविधि हस्तान्तरणका लागि सूचना संकलन कार्य सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत खनालले बताउनुभयो । उहाँले पशु सेवातर्फ हल गोरु पाल्ने कृषकलाई प्रोत्सान कार्यक्रम अनुसार प्रति कृषकलाई दाना खरिद बापत दुई हजार पाँच सय र गोरु खरिद बापत पाँच हजारका दरले दुई सय ८२ कृषकलाई सहयोग उपलब्ध गराइएको बताउनुभयो । वंगुर प्रर्वद्धन कार्यक्रम अनुसार एक सय ९४ वटा वंगुरका बच्चा वितरण समेत गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ । यस्तै गरी गाउँपालिकाले शिक्षा तथा खेलकुद, स्वास्थ्य, प्रशासन, सूचना प्रविधि, महिला विकास, सहकारी, पञ्जीकरण तथा सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रमको प्रगतिका विषयमा प्रमुख प्रशासकीय अधिकृत खनालले जानकारी गराउनु भएको थियो ।
सुनुवाइ कार्यक्रममा सहभागीहरुले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, खानेपानी क्षेत्रमा आफ्ना प्रश्न जिज्ञाशा र सुझाव व्यक्त गर्नुभएको थियो । जसमा कृषिमा तालिम मात्र भएको, सबै वडामा योजनाको समानुपातिक वितरण हुनुपर्ने, लिफ्टिंङ खानेपानीको अधिवेशन नियमित हुनुपर्ने, अस्थायी कर्मचारीलाई पञ्जीकरण शाखाको जिम्मा दिएको, अपांगता भएका ग वर्गका व्यक्तिले भत्ता नपाएको, भैरवस्थानमा रहेको डेरी किन बन्द भयो, सबै सामुदायिक विद्यलायमा ५ सम्म अ्रग्रेजी र ८ बाट माथि कम्प्युटर शिक्षा अनिर्वाय गर्नुपर्छ, हार्थोक छहरा सडक स्तरोन्नति, भैरकस्थानको पार्किङ शुल्क महंगो, अनुदान नेताले मात्र प्राप्त गरेकोलगायतका विषय उठान गर्भनुभएकाे थियाे ।
कार्यक्रममा उठान भएका प्रश्न, जिज्ञाशा र सुझाव बारे गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले विधि, प्रकृया र सर्वपक्षिय समन्वयका साथ समग्र गाउँपालिकाको समृद्धिका लागि आफूहरुले काम गर्दै आएको दावी गर्नुभयो । उहाँले गलत गर्ने छुट हामी कसैलाई नभएको र राम्रो सोचका साथ गरिएको काममा केही कैफियत भेटिए तत्काल सुझाउन सबै नागरिकलाई आग्रह गर्नुभयो । भएका राम्रो कामको निरन्तरता र सुधार गर्नुपर्ने विषयमा आमनागरिक संग सुझाव माग्न नियमित रुपमा सार्वजनिक सुनुवाइ गर्ने गरिएको अध्यक्ष कार्कीको भनाइ थियो ।
उपाध्यक्ष कान्ता अधिकारीले योजना तथा कार्यक्रमको गुणस्तर एकिन गरेर मात्र भूक्तानी दिने गरेको बताउनुभयो । उहाँले क्रमिक रुपमा नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्ने काम भैरहेकोले प्राप्त सल्लाह सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताउनुभयो ।
सुनुवाइ कार्यक्रममा नागरिक र बर्हिगमन प्रतिवेदन सञ्चार मञ्च पाल्पाका सदस्य भुवन रायमाझीले प्रस्तुत गर्नुभएको थियो । संस्थाका महासचिव कमल अधिकारीले सहजीकरण गर्नु भएको कार्यक्रममा उठेका विषयबस्तु माथि गाउँपालिकाका सम्बन्धित शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।







