
पाल्पा । लुम्बिनी प्रदेशका सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुको पहलमा पूर्वखोला गाउँपालिकामा विशेषज्ञसहितको स्वास्थ्य शिविर चलेको छ । जसमा नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजना तथा पूर्वखोला गाउँपालिकाको समन्वयमा चलेको विशेषज्ञ शिविरमा चार सय ५१ जनाले सेवा लिएका छन् । शिविरमा महिला तीन सय ५ र पुरुष १ सय ४६ जनाले विशेषज्ञ सेवा लिएका हुन ।
जनरल फिजिसियन, महिला तथा प्रसूति, छाला तथा यौन रोग, दाँत तथा मुख स्वास्थ्य सेवा तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । जसमा छालाका विरामी एक सय २४ जना , मानसिक रोगी ४४ जना, महिला तथा प्रसूति रोगी ६६ जना, जनरल फिजिसियन एक सय ८२ र दत्तरोगी एक सय ५४ जनाले सेवा लिएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो ।
स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशासक नेत्र अर्यालको नेतृत्वमा आएको विशेषज्ञसहितको टोलीले शिविरमा सेवा प्रवाह गरेको हो । स्वास्थ्य शिविरको निरीक्षणमा पुग्नु भएका स्वास्थ्यमन्त्री सारुले नागरिकमा सहज रुपमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न प्रदेश सरकारले ग्रामीण क्षेत्रमा शिविर प्राथमिकताका साथ सञ्चालन गर्ने गरेको बताउनुभयो । उहाँले यसरी शिविरहरु चलाउदा नागरिकहरुको स्वास्थ्य उपचारका लागि भैरहेको समय र पैसाको खर्च बचत हुँदै आएको बताउनुभयो ।
पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले गाउँपालिकाका नागरिकहरुले विशेषज्ञसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरण गर्ने शिविर सञ्चालन गर्ने वातावरण तयार गरेकोमा स्वास्थ मन्त्री सारुसहित स्वास्थ्य निर्देशनालयको टिमलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा शिविरहरु आयोजना गर्न आफूहरु सहकार्य गर्न तयार रहेको बताउनुभयो ।