
पाल्पा । तिनाउ गाउँपालिकाले जनताको खानेपानी समस्या समाधानका लागि एक घर एक धारा अभियानलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । जस अनुसार सञ्चालनमा रहेका खानेपानीका योजनाहरु केही सम्पन्न भएका छन् भने केहीको काम तीव्र रुपमा अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।
खानेपानीको समस्या भएका कारण बसाइँसराइ बढेको समयमा गाउँपालिकाले खानेपानीलाई प्राथमिकता दिएको छ । जसले गर्दा बसाइँसराइको बाध्यता हटेको ६ नं. वडा शिखरडाँडाका बलबहादुर सारुले बताउनुभयो । शिखरडाँडामा लिफ्टिङ प्रविधिमार्फत विद्यालयसहित एक सय परिवारलाई खानेपानी उपलब्ध गराइएको प्राविधिक बिनोद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार डबल लिफ्टबाट खानेपानी गाउँमा लगिएको छ । मोबाइल अपरेटिङ सिस्टम जडान गरिएकोले पम्प चलाउन मुहानसम्म जनता पुग्न पर्दैन जसले गर्दा उपभोक्ताको समय र पैसा दुबैको बचत भएको छ ।
गएका तीन आर्थिक वर्षमा करिब ८९ लाख ५० हजार रुपैयाँ बजेट गाउँपालिकाले लगानीमा शिखरडाँडाका घरघरमा खानेपानीको धाराहरु जडान गरिएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेठले जानकारी दिनुभयो । उहाँले क्रमागत योजना अनुसार गाउँपालिकाका सम्पूर्ण वडामा सहज रुपमा खानेपानी उपलब्ध गराउने योजना रहेको बताउनुभयो । गाउँपालिका भित्र सञ्चालनमा रहेका खानेपानी आयोजनाहरु केही सम्पन्न भइसकेका छन् । केही चालु आर्थिक वर्षमा सकिएको छ । जनताको आवश्यकता अनुसार खानेपानीको योजना चलाएर छिटै एक घर एक धारा अभियान पूरा गर्ने गरी काम गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
गाउँपालिकाको १ नं. वडाको चिउरेपानी लिफ्ट खानेपानी योजना चालु आर्थिक वर्षमा सम्पन्न भएको छ । जसले दुई सय बढी घरधुरीमा पानि पुगेको छ । आर्थिक वर्ष २०७८÷२०७९ मा एक करोड ६६ लाख संघीय सरकारको विशेस अनुदान र गाउँपालिकाको थप ६३ लाखको लागतमा योजना सम्पन्न भएको हो । तिनाउ १ मै सञ्चालनमा रहेको अर्को लिफ्टिङ खानेपानी योजना पनि सम्पन्न भएको छ । तालमुर्थुंग लिफ्टिङ खानेपानी योजनाबाट ७० घरमा पानी पुगेको छ । करिब २७ लाखको लागतमा खानेपानी योजना सम्पन भएको हो । यस्तैगरी १ नं. वडामै २२ घरलाई पुग्ने गरी १३ लाखमा घयार लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको छ । गाउँपालिका भित्र रहेको निकै नै दुर्गम स्थानमा रहेको बस्तीका जनतालाई केन्द्रमा राखेर योजना सञ्चालन गरिएको उपाध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभयो ।
गाउँपालिकाको १ नं. वडामै अर्को कचलफाँट खानेपानी योजना संचालनमा रहेको छ । जसबाट करिब दुई सय ५० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । करिब गाउँपालिकाको ३० लाख लगानीमा ग्राभिटी प्रणालीबाट योजना सम्पन्न भएको इन्जिनियर किशन कुँवरले जानकारी दिनुभयो । यस्तै २ नं. वडाको हरियाली गाँउ लिफ्ट खानेपानी योजना पनि सम्पन्न भएको छ । करिब ८० लाख लागत यस क्षेत्रका घरघरमा खानेपानीको धारा लगिएको २ नं. वडाका वडाध्यक्ष यादव प्रसाद अर्यालले बताउनुभयो ।
तिनाउ गाउँपालिकामा जम्मा घरधुरी संख्या चार हजार २ सय १ रहेको छ । जसमा ४५ प्रतिशतमा एक घर एक धारा पुगेको छ । करिब ३९ दशमलव ९ प्रतिसतले सामुहिक धाराबाट पानी उपभोग गरिरहेका छन् । चालु आर्थिक वर्षमा मात्रै करिब ४५ भन्दा बढी खानेपानी योजनाको निर्माण कार्य भैरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । करूवा पत्रिकाबाट