
पाल्पा । माथागढी गाउँपालिका ३ नं. वडा कसेनी सराईमा शुक्रबारदेखि तेस्रो माडी व्यापार महोत्सव हुने भएको छ ।
माथागढी गाउँपालिका क्षेत्रमा रहेका उद्योगी, व्यापारीहरुको हकहितमा काम गर्ने गरी गठन भएको उद्योग व्यापार संघ माथागढीको आयोजनामा महोत्सव हुन लागेको हो ।
बुधबार महोत्सव बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष भेगराज थापाले विगत दुई वर्षदेखि सराई युवा क्लबको आयोजनामा हुँदै आएको महोत्सव यस वर्षदेखि संघको नेतृत्वमा गर्न लागिएको बताउनुभयो । उहाँले माथागढी क्षेत्रको व्यापार–व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नेगरी महोत्सव चल्ने बताउनुभयो ।
जेठ २ गतेदेखि १४ गतेसम्म चल्ने महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको विक्री एवं प्रचार गर्ने उद्देश्य राखिएको छ । महोत्सवमा कृषि, घरेलु तथा साना उद्योग, लत्ताकपडा, होटल, खाद्यान्न, भाँडाकुँडाका गरी करिब एक सय ५० वटा स्टल रहने छन् । जसमा १५ वटा स्थानीय घरेलु उद्योग, मसला उद्योग, ढाका, होजियारी, सरफ उद्योगबाट उत्पादित बस्तुको प्रबद्र्धन तथा विक्रीका स्टल रहने अध्यक्ष थापाले बताउनुभयो ।
महोत्सव अबधिमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरु प्रस्तुति रहने छ । स्थानीय विभिन्न जात जातिका कला संस्कृति संरक्षण र प्रबद्र्धन गर्ने खालका प्रतियोगितात्मक कार्यक्रम समेत आयोजना गरिने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने र तीन करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको संघका महासचिव खेम दिशाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले आर्थिक चलायमानको अवस्था कमजोर रहेको समयमा गरिएको महोत्सव सफल बनाउन विगतका वर्षको अनुभवलाई व्यवहारमा लागु गर्न बनाउन आग्रह गर्नुभयो । उहाँले महोत्सवमा बाहिरी उत्पादन भन्दा स्थानीय उद्योगी, व्यापारीलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । महोत्सव सफल बनाउन पाल्पाली पत्रकार तथा मिडियाहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै महोत्सवलाई मिडियामैत्री बनाउन अध्यक्ष तिमिल्सेनाले अनुरोध गर्नुभयो ।