
पाल्पा । माथागढी कप फुटबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले हात पारेको छ ।
बुधबार माथागढीको सराई खेलमैदानमा भएको फाइनल खेलमा रामपुरले माथागढीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । जितसँगै रामपुरले एक लाख नगदसहित प्रमाणपत्र, कप र ट्रफी प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा आयोजक माथागढी गाउँपालिकाको समूह दोस्रो बनेको छ । जसले ७५ हजार नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा तिनाउ गाउँपालिका तेस्रो भएर ५० हजार नगदसहित प्रमाण पत्र, मेडल र ट्रफी पाएको माथागढी गाउँपालिकाका खेलकुद विकास समितिका संयोजक तथा ३ वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा माथागढी गाउँपालिका, रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका ६ समूहको सहभागिता रहेको थियो । प्रतियोगिता समापन समारोहमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, आयोजक पालिका माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापालगायतले बिजयी समूहलाई संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
फुटबलमा नयाँ खेलाडीको पहिचान गर्न र माथागढी फुटबल खेल संचालनको सम्भावना भएको क्षेका रुपमा प्रचार गर्न प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।