सडक महोत्सवको कमाइबाट दृष्टिविहीनलाई भोजन

पाल्पा । तानसेनमा रहेका विभिन्न सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरुको समूहले सडक खाना महोत्सवमा भएको कमाइबाट दृष्टिविहीन विद्यार्थीहरुलाई एक छाक भोजन तथा फलफूल वितरण गरेको छ ।

शनिबार तानसेन ९ दमकडामा रहेको दमकडा नमुना माध्यमिक विद्यालयमा रहेका दृष्टिविहीन विद्यार्थीहरुलाई १४ जना महिला बजार प्रतिनिधिहरुको समूहले विद्यालयमै पुगेर खाना खुवाउनुका साथै फलफूल वितरण गरेको हो ।

गएको फागुन २१ गते भएको भिमसेन टोल सडक खाना महोत्सवमा सहकारी बजार प्रतिनिधि समूहले खानाको परिकारको स्टल राखेर करिब ३९ हजार रुपैयाँ नाफा गरेको र सो रकम सामाजिक कार्यमा खर्च गर्ने समूहको निर्णय अनुसार दृष्टिविहीन विद्यार्थीहरु खाना खुवाइएको समूहकी सदस्य राधा कुँवरले जानकारी दिनुभयो । उहाँले एक छाक खाना सहयोग गर्दा पनि दृष्टिविहीन विद्यार्थीहरुलाई पढाईमा सहजता हुने बताउनुभयो ।

दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले व्यापार गरेर भएको नाफाबाट दृष्टिविहीन विद्यार्थीहरुलाई एक छाक खाना खुवाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि समूहलाई सामाजिक कार्यमा थप रचनात्मक काम गर्न आग्रह गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय