
पाल्पा । रिब्दीकोट गाउँपालिका ५ नं. वडामा रहेको जलेश्वर मन्दिर क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीय सरकारले प्राथमिकताका साथ काम गर्दै आएका कारण मन्दिर क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको जलेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न उद्देश्यले गाउँपालिकाले अग्रसरता देखाएपछि अहिले सो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने गरी विकसित हुँदै गएको हो ।
गाउँपालिकाले जलेश्वर सिद्ध मन्दिर क्षेत्रमा वनस्पति उद्यान, धार्मिक गन्तव्य एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । रिब्दीकोको जलेश्वर क्षेत्रमा निर्माणाधीन भौतिक पूर्वाधारको अध्यक्ष नारायण बहादुर कार्कीले अवलोकन गर्दै ऐतिहासिक, धार्मिक एंव पर्यटकीय स्थल जलेश्वर क्षेत्रलाई धामका रुपमा विकास गरी धार्मिक पर्यटकको आवागमन बढाउने गरी काम भैरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा सक्ने गरी सडक पूर्वाधारको काम गर्दै आएको जानकारी दिनुभयो । गाउँपालिकाको पहिचानसंग जोडिएको क्षेत्र भएका कारण वर्खा अगाडि नै सबै निर्माणका काम सक्न निर्माण व्यवसायीलाई अध्यक्ष कार्कीले निर्देशन समेत दिनुभएको छ ।
सोही अवसरमा जलेश्वर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय हिसावले अगाडि बढाउन विकास संर्गै चहलपहल गराउन भौतिक पूर्वधारका क्षेत्रमा अझै बढी लगानी बढाउन गाउँपालिकालाई स्थानीय युवा सचिन कुवँरले आग्रह गर्नुभयो । यस क्षेत्रमा अति दुर्लभ जडिबुटी रहेको पाइन्छ । टिमुर, चाप, चिराइतोलगायतका बिरुवा यस क्षेत्रमा पाइने हुँदा यस क्षेत्रको महत्व अझै रहेको कुवँरको भनाइ छ । अर्का स्थानीय बासिन्दा कृष्ण थापाका अनुसारका रिब्दीकोट क्षेत्र धार्मिकसँग वैज्ञानिक महत्व रहेकाले पनि यस क्षेत्रको थप विकास गर्न आवश्यक रहेको बताउनुभयो । मन्दिर वरपरको क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा लगाइएको छ । एभोकाडो, टिमुर, वर, पीपल, तेजपात, लाकुरीलगायत तीन सय बढी बिरुवा यहाँ लगाइएको छ । गाउँपालिकाले मन्दिरमा भौतिक निर्माणसँगै मन्दिर क्षेत्रलाई हरियाली बनाउन र धार्मिक पर्यटकका लागि आकर्षण बनाउदै रिब्दीकोट चिनाउने प्रमुख गन्तब्य सहित धार्मिक महत्व बढाउने काममा स्थानीय सरकारले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको भनाइ छ ।.
शिवलिङ्ग, अखण्ड शिव धुनी, हिमालय पर्वतमा शिवपार्वतीको मूर्ति स्थापनाले यो क्षेत्र धार्मिक पर्यटकलाई लोभ्याएको छ । निकै आकर्षक शैलीमा निर्माण गरिएका मूर्तिहरुले धार्मिक पर्यटकलाई आकर्षण गर्न सहयोग पुग्ने विश्वास प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले व्यक्त गर्नुभयो ।
जलेश्वर क्षेत्रमा तत्कालीन समयमा भारतबाट मुगलहरूको आक्रमण सहन नसकेर बुटवलको बाटो भएर रिब्दीकोट आएका सेनवंशीय राजाले यस क्षेत्रलाई आफ्नो राजधानी बनाएको इतिहास छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थल जलेश्वर क्षेत्र विकासको ६५ रोपनी जग्गा छ । धार्मिक पर्यटकदेखि ऐतिहासिक विषयका अध्ययन अनुसन्धान गर्ने पनि यस क्षेत्र रुचाउने गर्दछन् । यस क्षेत्रमा बाह्रैमहिना चिसो हुन्छ । सदरमुकाम तानसेनबाट २० किलोमिटर पश्चिममा पर्ने जलेश्वर क्षेत्र धार्मिक एवं ऐतिहासिक रूपमा परिचित छ । मौसम मापनका लागि सरकारले रिब्दीकोटमा राडर समेत जडान गरेको छ । करूवा पत्रिकाबाट