तानसेन महोत्सव दुई दिनपछि चल्छ : अध्यक्ष कार्की

पाल्पा । बुधबार रातीको हावाहुरी र पानीका कारण अस्तव्यस्त बनेको तानसेन टुंडिखेलमा चलिरहेकाे दोस्रो तानसेन महोत्सव दुई दिन पछि सञ्चालनमा आउने आयोजक पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बताउनुभएको छ ।

हावाहुरीका कारण महोत्सव स्थलमा निर्माण गरिएका संरचनाहरु प्रभावित भएका छन् । सांस्कृतिक कार्यक्रम चलाउने स्टेज, व्यापारिक स्टल र प्रवेशद्वार, सचिवालयसमेतका संरचना भत्किएका छन् । भत्किएका सबै संरचनाको निर्माण गरेर दुई दिनपछि महोत्सव पूर्ण रुपमा सञ्चालनमा ल्याइने अध्यक्ष कार्कीले बताउनुभयो ।

बिहीबार दिउँसो पाल्पाका प्रमुख जिल्ला अधिकारी ताेयनारायणा सुवेदीसहितको टोली, बिमा कम्पनीका प्रतिनिधि र आयोजकहरुले वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा भएको क्षतिको अवस्था अवलोकन गरेका छन् । अहिलेसम्म क्षतिको एकिन विवरण नभएको र विवरण संकलन कार्य भैरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

गत चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव वैशाख ३ गतेसम्म चल्ने बताइएको थियो । जसमा तीन सय बढी स्टलहरु रहेका थिए । दैनिक रुपमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहदै आएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय