
पाल्पा । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ र राष्ट्रिय युवा संघ नेपाल, तिनाउको पुनर्गठन भएको छ । शुक्रबार दोभानमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।
युवा संघ गाउँ कमिटीको अध्यक्षमा अम्मरबहादुर तरामू सर्वसहमत चयन हुनुभएको छ । उहाँको नेतृत्वमा ६ वटै वडाबाट सदस्य रहेको १८ सदस्यीय नयाँ कार्यसमिति बनेको हो । त्यसैगरी अखिल नेपाल महिला संघ, तिनाउको अध्यक्षमा धना थापा चयन हुनुभएको छ । यहाँको नेतृत्वमा १८ सदस्यीय नयाँकार्यसमिति पुनर्गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् संविधान सभा सदस्य नारायणी घिमिरेले जरा अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन अनेम संघ र राष्ट्रिय युवा संघ, नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले महिला र युवाहरुलाई एकीकृत गरी पार्टीले अघि बढन सके मात्र मिसन ८४ सफल हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुुरुङले नेकपा एमालेले सञ्चालन गरिरहेको वडाकेन्द्रीत जरा अभियानको ध्येय, उद्देश्य, क्रियाकलाप र जनताका माझ यसको प्रभावका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा अनेम संघ,पाल्पाकी अध्यक्ष मीना जिसीले महिलाहरुको समृद्धि, सपना र सामथ्र्यका लागि अनेम संघको एकताबद्व प्रयास, गतिशीलता र क्रियाशीलता नै प्रमुख रहेको उल्लेख गर्नुभयो । नेकपा एमाले प्रदेश लेखा कमिटीका सदस्य झपिन्द्र रायमाझीले जनताका घरदैलामा पुगेर जरा अभियानलाई सफल बनाउन अपील गर्नुभयो ।
राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सचिवालय सदस्य दीपक विकले युवाहरुको एकता र प्रयासले नै नेपालको गणतान्त्रिक आन्दोलन सफल भएको र प्रतिगमनकारी विचारसँग मुकाबिला गर्न फेरि पनि जुर्मुराउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ, नेपाल, पाल्पा जिल्ला अध्यक्ष कृष्ण कार्की, जिल्ला कमिटी सचिवालय सदस्य गोमा भण्डारी, गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरीलगायतले जनताको दुख बुझ्ने पार्टी एमाले भएको बताउर्दै सरकारले गरेका कामको प्रचारमा खुलेर लाग्नुपर्ने बताउनुभयो ।









