
तानसेन । पाल्पा अस्पाताल तानसेनले पहिलो पटक औपचारिक रुपमा वार्षिकोत्सव मनाएको छ । प्राप्त प्रमाणहरुका आधारमा वि.स. १९६९ मा स्थापना भएको अस्पतालको विहीबार एक सय १३ र्औ वार्षिकोत्सव मनाइएको हो ।
वार्षिकोत्सवका अवसरमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आकस्मिक र अप्रेसन कक्ष संचालन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्नुभयो । लुम्बिनी प्रदेश सरकारको ५० लाख र अस्पताल विकास समितिको २० लाख लगानीमा निर्माण गर्न लागिएको भवन पाँच महिनाभित्र सक्ने गरी कुल ५६ लाख २५ हजार एक सय ७३ रुपैयाँमा निर्माण व्यवसायसंग सम्झौता भएको छ ।
सुरुमा पृथ्वी चन्द्र अस्पताल, पाल्पा हेल्थ सेन्टर हुँदै २०४२ साल चैत्र १४ गते पाल्पा अस्पतालको नाममा दरबन्दी कायम भए अनुसार पहिलो पटक वार्षिकोत्सव मनाइएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । उहाँले अस्पताललाई आर्थिक वर्ष २०७७।७८ बाट लुम्बिनी प्रदेश सरकारले ५० शैयाको अस्पतालका रुपमा स्तारोन्नति गरेपनि आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएपनि सीमित जनशक्तिबाट गुणस्तरिय सेवा प्रवाह गरिहेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री सारुले पाल्पा अस्पताललाई मानसिक स्वास्थ्यको विषेशज्ञ अस्पतालका रुपमा विकास गर्ने गरी काम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा सरकारी निकायको सेवा प्रवाहमा समस्या भएका कारण आमनागरिमा आक्रोश बढेको बताउनुभयो । आम नागरिकको हितमा सेवा प्रवाह गर्न नसक्दा समस्या देखिएकोले गुणस्तरिय सरकारी सेवा प्रवाहमा ढिला गर्न नहुने मन्त्री सारुको भनाइ थियो । उहाँले सरकारी अस्पताल मात्र नभएर सरकारी विद्यालयको गुणस्तर वृद्धिमा सबै पक्ष गम्भीर भएर जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो । मन्त्री सारुले पाल्पा अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित बनाउन सुविधा सम्पन्न पूर्वाधार निर्माण गर्नका लागि आफ्नो क्षेत्रबाट पहल गरिरहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले मानव जीवनको स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवा प्रवाहमा अस्पताल दुखी गरिव नागरिकसंग जोडिएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले व्यवस्था परिर्वतन भएपनि अवस्था परिर्वतन नभएका कारण अस्पतालका लागि आवश्यक जग्गा व्यवस्थापनमा विलम्ब भएको बताउनुभयो । साना साना संरचना बनाइरहनु भन्दा ढिला भएपनि अस्पतालको गुरु योजना अनुसार काम अगाडि बढाउनुपर्नेमा प्रदेश सभा सदस्य रानाको भनाइ थियो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सरकारी अस्पताल जनताको अस्पताल भएकोले सेवा सुधारमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भवन निर्माण भएपछि बिरामीहरुका लागि सेवा लिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय पाल्पा अस्पतालप्रति जनताको विश्वास बढ्दो रहेकोले गुणस्तरीय सेवा भए सरकारी अस्पलातमै बिरामी उपचारका लागि आउने उदाहरण बनेको प्रमुख खनालको भनाइ थियो ।
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले अस्पतालले औपचारिक रुपमा वार्षिकोत्सव मनाउन थालनी गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पाल्पा अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्न तानसेन नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । पाल्पाका नौं वटा स्थानीय तहमा आमा सुरक्षा कार्यक्रम चलेको तर तानसेन नगरपालिकामा नभएकोले तानसेनमा आमा सुरक्षा कार्यक्रम संचालन गर्ने वातावरण निर्माणमा सबै लाग्नुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै ५० शैयाको अस्पताल भएपनि पूर्वाधार अभावले सेवा प्रवाहमा समस्या रहेको बताउनुभयो । उहाँले जग्गा व्यवस्थापनका लागि आपूmले पनि निरन्तर पहल गरिरहेको र केही समयमै जग्गा व्यवस्थापनको टुंगो लाग्ने बताउनुभयो ।
वार्षिकोत्सवका अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामेश्वर देवकोटाले अस्पतालबाट उपलब्ध सेवाहरु, सेवाग्राहीको अवस्था, भौतिक पूर्वाधारका साथै वार्षिक आय व्ययसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा उहाँले अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माणका लागि जग्गा अभाव भएको, जीर्ण तथा साँधुरो भवनकाट सेवा प्रवाहमा समस्या भएको, विशेषज्ञ चिकित्सकको अभाव, कर्मचारी अभाव, शल्यक्रियासहित विशिष्टकृत सेवा उपलब्ध गराउन नसकिएको जस्ता समस्याहरु बारे जानकारी गराउनुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा अस्पतालको विकासमा योगदान गर्नुहुने अस्पताल विकास समितिका पूर्व अध्यक्ष, कर्मचारीहरुलाई सम्मान गर्नुका साथै अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।