
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएको फागुन महिनामा ६ जना फरार अपराधीलाई पक्राउ गरी कारबाही गरेको छ ।
एक करोड चार लाख ५९ हजार ३ सय ५० रुपैयाँ विगो तोकिएका फरार प्रतिवादीहरुलाई पक्राउ गरी कारागार चलान गरिएको पाल्पाका प्रहरी प्रमुख नरेन्द्र चन्दले जानकारी दिनुभयो । उहाँले पक्राउ पर्ने फरार प्रतिवादी फैसला पछिको अवधिको आधारमा पाँच वर्ष भन्दा कम समयमा पक्राउ पर्ने तीन जना रहेको बताउनुभयो । यस्तै पाँच वर्षपछि पक्राउ पर्नेमा १ जना र १० वर्ष पछि पक्राउन पर्ने २ जना रहेका छन् ।
यस्तै एक एक महिनाको समयमा जिल्लामा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कारबाही गरेर एक लाख तीन हजार ३ सय रुपैयाँ, अबैध काठ बरामदबाट एक लाख २५ हजार र राजस्व छलीबाट १९ हजार ७ सय रुपैया राजस्व संकलन भएको प्रमुख चन्दको भनाइ छ ।
प्रहरी कार्यालयमा फागुन महिनामा २३ वटा विभिन्न शीर्षका मुद्दा दर्ता भएकोमा ९ वटा मुद्दा फस्र्योट भएको र १४ वटा बाँकी रहेका छन् । जसमा बहुविवाह सम्बन्धी एक, बैकिङ कसुरु सम्बन्धी एक, सवारी ज्यान सम्बन्धी एक, नागरिकता सम्बन्धी दुई, झुण्डी मृत्यु भएको ज्यान सम्बन्धी सात, विषादी सेवन गरी मुत्यु सम्बन्धी एक , फुटकर ज्यान सम्बन्धी एक वटा मुद्दा बाँकी रहेको प्रहरी प्रमुख चन्दले बताउनुभयो ।
आठ वटा उजुरी परेको छ । जसमा सामान्य झगडा सम्बन्धी ४ वटा, चेक लेनदेन सम्बन्धी १ वटा, सवारी दर्घटना सम्बन्धी २ वटा र गाली बेइज्यती सम्बन्धी १ वटा उजुरी रहेको प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनालाई तीव्रता दिएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले फागुन महिनामामा चेक जाँचका क्रममा छ सय ३० वटा सवारी साधन कारबाहीमा परेको बताउनुभयो । जसबाट सात लाख ७ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रमुख खनालको भनाइ छ । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा यो महिनामा संकलन भएको राजस्व अहिलेसम्मकै बढी भएको उहाँले बताउनुभयो ।







