
पाल्पा । बगनासकाली गाउँपालिकाका अदुवा खेती गर्ने कृषकहरुलाई उत्पादन भण्डारणका लागि घर निर्माण गरिदिएपछि खेतीमा सहज भएको छ । उत्पादन भएको अदुवा भण्डारणका लागि उचित व्यवस्था नुहँदा करिब २० प्रतिशत अदुवा भण्डारणमै कुहिने अवस्था रहेको समयमा एक घर एक भण्डारण घर निर्माण अभियानले कृषकलाई सहज भएको हो । यो अभियान अन्तरगत गाउँपालिकाको पोखराथोक, खानीगाउँ र चापपानीमा परम्परागत शैलीमा भण्डारण घर निर्माण गरिएको छ ।
सामान्य तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या आउने भएकोले ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको हो । गाउँपालिकाको समन्वयमा एक सामाजिक संस्थाको सत प्रतिशत सहयोगमा एक घर, एक भण्डारण घर निर्माण गरिएको हो । आगामी दिनमा यो अभियानलाई अन्य वडामा समेत विस्तार गर्ने योजना रहेको छ ।
यो वर्ष ४२ घर निर्माण गरिएको छ । जस अन्तरगत पोखराथोकमा २२ वटा, खानीगाउँ र चापपानीमा २० भण्डारण घर निर्माण गरिएको बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख रामहरी गैरेले बताउनुभयो । एक अदुवा भण्डारण घरमा निर्माण गरेको एक खाडलमा एक पटकमा ५०० किलोग्राम भण्डारण गर्न सकिने उहाँले बताउनुभयो । एक पटक भण्डारण गरेको अदुवा ३÷४ महिना सजिलै टिक्ने भएकाले कुहिएर खेर जाने समस्या कम हुने मात्र नभइ किसानले बेमौसममा सजिलै विक्री गर्न पाउने बताउनुभयो । गाउँपालिकाका अधिकांश कृषकले अदुवा उत्पादन गर्दै आएको र बजारको अभावमा कुहाएर फाल्ने पर्ने अवस्था र कम मुल्यमा विक्री गर्नुपर्ने भएकाले अदुवा भण्डारण घर कृषकलाई आवश्यक रहेको महसुस गरेर निर्माणको कामलाई अगाडी बढाइएको कृषि शाखा प्रमुख गैरेको भनाइ छ ।
कृषकले उत्पादन गरेको अदुवा अहिले एक सय ५० देखि एक ुय ७० रुपैयाँ प्रतिकिलो विक्री हुदै आएको छ । बेमौसममा अदुवा प्रतिकिलो दुई सयदेखि दुई सय ५० सम्म विक्री हुन्छ । किसान आफूले उत्पादन गरेको अदुवाबाट धेरै आम्दानी गर्न सक्ने बनाउन र बीउ अदुवा भण्डारण गर्न घर निर्माण गरिएको प्राविधिकहरुको भनाइ छ । विगतमा बिचौलियाका कारण प्रत्येक वर्ष अदुवाको आफूले सही मूल्य तोक्न नसक्दा मारमा पर्दै आएको कृषक पवित्रा मुडवरीले अदुवा भण्डारण घर निर्माणबाट धेरै राहत भएको बताउनुभयो । यो वर्ष केही कृषकको घरमा मात्र बनाइएको र अर्को वर्ष सबैको घरमा अदुवा भण्डारण घर निर्माण गर्ने समूहका अध्यक्ष समेत रहनुभएकी मुडवरीले बताउनुभयो
ताजा अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्ने हुँदा सुरक्षित भण्डारणका लागि घर निर्माणका लागि सहजीकरण गरिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इँटा प्रयोग हुन्छ । यो प्रविधि अपनाएर मंसिरदेखि चैत, वैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने उहाको भनाइ छ । बीउ प्रयोजनका लागि अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आई बीउको गुणस्तर घट्ने, दरिलो र पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पर्ने अध्यक्ष चिदीको भनाइ छ । (करूवा पत्रिकाबाट सभार)