
पाल्पा । चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा अखिल क्रान्तिकारीका तर्फबाट सचिव पदमा मनोनयन दर्ता गराउनुभएका विपिन पंगेनीले उम्मेदवारी फिर्ता लिएर अनेरास्ववियुको अनुजा अर्यालको प्यानललाई सघाउने निर्णय गर्नुभएको छ ।
क्याम्पसको समग्र विकास र विद्यार्थी हकहितका लागि अर्यालको प्यानल नै उपयुक्त भएको ठहर गर्दै पंगेनीले शनिबार सामाजिक संजाल फेसबुकमा आफ्नो स्वइच्छाले उम्मेदवारी फिर्ता लिएर अर्याल नेतृत्वको प्यानललाई विजयी बनाउन लागि परेको र सबै मतदातालाई विजयी बनाउन आग्रह समेत गर्नुभएको छ ।
यसअघि नेपाल विद्यार्थी संघबाट सदस्य पदमा मनोनयन दर्ता गराएका एलन सूर्यवंशीले पनि अनेरास्ववियुलाई सघाउने निर्णयका साथ उम्मेदवारी फिर्ता लिनुभएको थियो । उहाँले स्ववियु निर्वाचनमा प्रत्यक्ष सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको थियो । पछिल्लो समय निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवारको जनमत बढ्दै गएको नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो ।








