शिक्षालाई सीप र प्रविधिसंग जोड्नुपर्छ : मन्त्री सारु

पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले शिक्षालाई सीप र प्रविधिसंग जोड्नुपर्ने बताउनुभएको छ । उहाँले विद्यालयहरुले शैक्षिक नतिजा सिद्धान्तमा मात्र केन्द्रित नगरी विश्व बजारमा विक्ने र टिक्ने सीप र प्रविधियुक्त जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको हो ।

सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाको आयोजना तथा जनता माध्यमिक विद्यालय तानसेनको सह आयोजनामा भएको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान अन्तरगतको कार्यक्रममा बोल्दै मन्त्री सारुले आफ्नो शैक्षिक यात्राको विषयमा जानकारी गराउर्दै सामुदायिक विद्यालयको नतिजा कमजोर बन्दै गएकोमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले धेरै अंक ल्याउने सीमित विद्यार्थीका पछाडी विद्यालय नलागेर मध्यम वर्गको नतिजा ल्याउने विद्यार्थीलाई समेटेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पूर्व विद्यार्थीको अतुलनीय र रचनात्मक भूमिका रहने बताउनुभयो । सोही विद्यालयमा कक्षा ९ र १० अध्ययन गर्नुभएका स्वास्थ्य मन्त्री सारुले प्रदेश सरकारले नागरिकका लागि शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर योजना तथा कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सामुदायिक विद्यालयहरु राम्रो भएर पनि पछिल्लो समय अभिभावकहरुको लागि निजी विद्यालय रोजाई हुन थालेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले धेरै व्यक्तित्व जन्माएकोले एक पटक आफूले पढेको विद्यालय प्रतिको दायित्व सम्झाउन अभियान सफल हुने विचार व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका बरिष्ठ लेखा अधिकृत सुरेन्द्र पौडेलले सरकारले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान चलाएको बताउनुभयो । उहाँले प्रदेशभरीका १२ जिल्लाका १५ वटा विद्यालयमा सुरु गरिएको अभियान आगामी वर्षमा क्रमिक रुपमा बढाउदै लैजाने जानकारी दिनुभयो ।

कार्यक्रममा तानसेन ३ का वडाध्यक्ष बाबुरत्न शाक्य, पूर्व प्रधानाध्यापक बुद्धिप्रसाद शर्मा, मेघराज पौडेल, पूर्व विद्यार्थीं समाजका सचिव सन्तोष खनाललगायतले विद्यालको शाख र गरिमालाई कायम गर्न समयनुसार प्रविधिमैत्री शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले विद्यालयमा अध्ययन गरेका विभिन्न क्षेत्रमा क्रियाशील पूर्व विद्यार्थीहरुलाई विद्यालयको भौतिक, शैक्षिक तथा अन्य विविध पक्षका विषयमा जानकारी गराएर सहयोग लिने वातावरण बनेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयको परिचय, वर्तमान अवस्था, अवसर र चुनौतीका विषयमा प्रधानाध्यापक हरिप्रसाद घिमिरेले जानकारी गराउनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक रामप्रसाद ढकालको सञ्चालनमा भएको हो ।

यस अभियान अन्तरगत आगामी दिनमा शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाउने, विविध शैक्षिक प्रतियोगिताका आयोजना गर्ने, छात्रवृत्ति कोष स्थापना गर्ने, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रम सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि जस्ता विभिन्न गतिविधि सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर