नसर्ने रोगहरु सम्बन्धी स्वास्थ्य परिसंवाद

पाल्पा । नसर्ने रोगहरुको पहिचानका लागि सञ्चालन गरिएको एक महिने अभियान अन्तरगत स्वास्थ्य परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले प्रजातन्त्र दिवसको अवसरमा पत्रकार तथा रेडियोकर्मीको सहभागितामा परिसंवाद कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रोगको निदान र उपचारसँगै रोग लाग्न नदिन रोकथामका उपायहरू समयमै जनस्तरमा लैजानुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय मानसिक रोगीहरुको संख्या बढ्दो रहेकोले समयमै पहिचान र उपचारको वातावरण बनाउनुपर्नेमा जोड दिनुयभो । सामाजिक सञ्जालको प्रयोग, महत्वाकांक्षी स्वाभाव र कम उमेरमा हुने विवाहका कारणले गर्दा पनि पाल्पामा आत्महत्या सुरक्षा चुनौतीका रुपमा रहेको बताउदै प्रमुख जिल्ला अधिकारी सुवेदीले समस्या समाधानका लागि स्थानीय सरकारसंगको सहकार्यमा ग्रामीण क्षेत्रसम्म सचेतना फैलानुपर्नेमा जोड दिनुयभो ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले उपचार सेवा सुधारसँगै निरोधात्मक विधिको प्रवद्र्धन गर्ने योजना अनुसार नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि फागुन महिनाभर हरेक स्थानीय तहमा एक महिने अभियान चलेको जानकारी गराउनुभयो । उहाँले अभियानको अबधिमा मधुमेह परीक्षण, रक्तचाप मापन, मिर्गौला सम्बन्धी रोगको जाँच, उचाइ र तौलको अनुपात पहिचान निःशुल्क रुपमा नागरिकले प्राप्त गर्न सक्ने बताउनुभयो । पाल्पामा स्वास्थ्य सेवाको अवस्था सुधारात्मक भएको बताउदै निमित्त प्रमुख पोखरेलले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच वृद्धिका लागि प्राथमिकताका साथ काम गरिएको बताउनुभयो ।

पाल्पा अस्पतालका मेडिकल अधिकृत डा.विवेक पौडेलकाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौलामा समस्या, उच्च रक्तचाप, मधुमेहलगायत रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेको बताउनुभयो । उहाँले अस्वस्थ्य जीवनशैली, शारीरिक निष्क्रियतालगायत कारणले नसर्ने रोग बढ्दो क्रममा रहेको बताउनुभयो । नसर्ने रोगको पहिचान र सचेतनामा राज्यको लगानी कमजोर रहेकोले आमनागरिकलाई रोग लाग्नबाट जोगिन र रोकथामको अवस्थाका लागि सचेतना अभियान चलाउनुपर्ने मेडिकल अधिकृत पौडेको भनाइ थियो ।

पत्रकार नारायण न्यौपानेको सहजीकरणमा भएको परिसंवाद कार्यक्रम जिल्लामा रहेका रेडियोहरुले प्रत्यक्ष प्रशारण गरका थिए । कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरुले सर्ने रोग भन्दा नसर्ने रोगको गम्भीर प्रकृतीको हुने गरेकोले समयमै स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले सबै सरोकारवाल पक्षको समन्वय र सहकार्यमा सकेसम्म वर्षको एक पटक नियमित स्वास्थ्य परीक्षणको अनिवार्य व्यवस्था मिलाउनु पर्ने सुझाव राखेको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय