रम्भा २ को फोक्सिङकोट रानीबासमा घरबास सुरु

रम्भा गाउँपालिका २ नं. वडा फोक्सिङकोटमा रहेको रानीबास गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा भएको छ ।

घरबास शुभारम्भ गर्न पुग्नुभएका पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण आचार्यले पर्यटकीय संभावना बोकेको फोक्सिङकोटमा होमस्टेले विकासलाई टेवा पुग्ने बताउनुभयो । उहाँले नमुना होमस्टेको रुपमा स्थापित गर्न संघ सरकारसँग आवश्यक बजेट र कार्यक्रमको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कालीगण्डकी कोरिडोरबाट रानीबाससम्म आउने सडकलाई स्तरोन्नति गर्नका लागि बजेटको व्यवस्था मिलाउने सांसद आचार्यले बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले पुराना कला, संस्कृति र मगर समुदायको भेषभुषालाई व्यवस्थित गरेर प्रदर्शन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो ।

गाउँपालिकामा सुरु भएको पहिलो घरबास कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रकृति, संस्कृति र रैथानेवाली जिल्लाकै नमुनाका रुपमा रहेको रानीबास गाउँ भएकोले होमस्टे सुरु गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँले गाउँपालिका भित्र रहेका प्राकृतिक तथा एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने पाहुनालाई स्थानीय अर्गानिक उत्पादन खुवाउने र नागरिकको आयआर्जन वृद्धिमा सघाउने उद्देश्यले घरबास सञ्चालन गरिएको बताउनुभयोे । आवश्यक पूर्वाधार निर्माण स्थानीयबासीले आफ्नै सक्रियतामा गरेका हुन भने पहुँच सडक निर्माण, क्षमता विकास र प्रचारको काममा गाउँपालिकाले सहयोग गरेको अध्यक्ष भण्डारीको भनाइ छ ।

घरबास सुरु भएको रानीबासमा ९२ घरपरिवार बसोवास रहेको छ । होमस्टेका लागि ३० घरपरिवार तयारीमा छन् । जसमध्य अहिले व्यवस्थित रुपमा १६ घरमा घरबास सञ्चालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष देउकुमारी सारूले जानकारी दिनुभयो । गाउँपालिकाले कार्यक्रम संचालनमा लागि तालिम दिएपछि घरको व्यवस्थापन गर्ने, घर सजाउने, खाना पकाउनेलगायतको ज्ञान र सीप सिकेर आफूहरूले सेवा सुरु गरेको उहाँले बताउनुभयो । होमस्टेमा आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपैयाँको प्याकेज निर्धारण गरिएको छ । जसमा कुखुराको मासुसहित दुई छाक खाना, एक छाक नास्ता र एक रात बासको सुविधा सुविधा रहेको अध्यक्ष सारुको भनाइ छ ।

पाहुनाको माग अनुसार स्थानीय उत्पादनका परिकारहरु कोदोको ढिंडो, रोटी, मकैको आँटो, गुन्द्रुक, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिको सुँगुरको मासु, बटुक, सेलरोटीको लगायका स्वाद लिन पाइने होमस्टे सञ्चालक समितिका सचिव वीरबहादुर गुरूङले बताउनुभयो । उहाँले पन्चेबाजा, सालैजो, मारूनी, ठूलो नाच, झाम्रेलगायत स्थानीय सँस्कृतिसँगै अतिथि रमाउन पाउने बताउनुभयो ।

यहाँ आउने पर्यटकले जनजाती संग्रहालयको पनि अवलोकन गर्न पाउने छन् । जनजाति संग्रहालयले होमस्टेको थप आकर्षण बढाएको छ । एक करोड बढी लागतमा निर्माण गरिएको संग्रहालय कुँडुले शैलीमा निर्माण गरिएको छ । जसमा मगर समुदायका संस्कृति झल्किने परम्परागत सामग्री राखिएको छ ।

गाउँपालिका भित्र रहेका रम्भा देवी मन्दिर, झोकेदी टिमूरडाँडा, रिमिघालेक, लुप्च पोखरा, कालीगण्डकी उत्तरवाहिनी क्षेत्र, हुमिनको रैया, हुँगी र पिपलडाँडाका धार्मिक क्षेत्र सङ्गै प्याराग्लाइडिङ्ग र कालिगण्डकीमा र्याफटिङ्गलाई समेटेर एकीकृत पर्यटन विकास गरी पर्यटकलाई अवलोकन गराउने योजना रहेको गाउँपालिकाको योजना रहेको छ । करूवा पत्रिकाबाट

सम्बन्धित खवर