तिन्टीआँपमा हुने कृषि मेलाको तयारी पूरा

पाल्पा । तानसेन नगरपालिका –९ मदनपोखरा तिन्टीआँपमा शनिबार अर्थात (भोलि) हुने तेस्रो कृषि मेलाको तयारी पूरा भएको छ ।

तानसेन ९ वडा कार्यालयको प्रबद्र्धनमा मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना गर्न लागेको तेस्रो कृषि मेला पर्यटन प्रदर्शनी २०८१ को तयारी सकिएको हो । मेलाका विषयमा आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

कृषि उत्पादन बढाऔं , परनिर्भरताको अन्त्य गरौं’ भन्ने नाराका साथ हुन लागेको मेलामा ३५ वटा स्टल रहने मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम घिमिरेले जानकारी दिनुभयो । उहाँले कृषि मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, कृषि बाली, बाख्रा कुखुरा, रैथाने बाली, कृषि औजार, बीउबिजनको प्रदर्शनी रहने बताउनुभएको छ ।

यसैगरी पशु रोग निदान तथा गोबर परीक्षण,बाली रोग निदान शिविर, प्लान्ट क्लिनिक, माटो परीक्षण शिविर,कृषि उद्यम अनुभव आदानप्रदानलगायतका स्टल रहने सहकारीका अध्यक्ष घिमिरेको भनाइ थियो । कृषकले आफैले बनाएका खानाका परिकार, किसानकै गीत, नाटक र नृत्य,कृषक समूहहरूको झाँकी ¥याली मेलाका आकर्षण रहने आयोजकले जनाएको छ ।

फौबन्जार, मध्यस्थताकर्ता, बिचौलिया, र दलालहरूको अन्त्य गर्दै कृषिकलाई सिधा उपभोक्तासँग जोडने अवस्था निर्माणका लागि वडा कार्यालयले कृषि मेलालाई प्राथमिकताका साथ सहयोग गर्दै आएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । उहाँले कृषि व्यवसाय, कृषि उद्यम र कृषि पर्यटन प्रवद्र्धन गर्न मेला सहयोगी बन्दै गएको बताउनुभयो । कृषकको हित, परस्पर लाभ र सम्मानसँग यो मेला जोडिएको बताउदै वडाध्यक्ष अर्यालले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न मेला सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मेला सम्पन्न गर्न ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । जसको स्रोत संकलनका लागि विभिन्न निकायसंग समन्वय गरिएको छ । तिन्टीआँप खेल मैदानमा हुने मेलामा उत्कृष्ट किसानलाई पुरस्कृत समेत गरिनेछ । मदनपोखरामा काउली, बन्दा, भाण्टा, टमाटर, खुर्सानी, काक्रो, धनिया, साग, मुला, गाजर, सिमी बोडीलगायतको तरकारी उत्पादन हुन्छ । जसको बजारीकरणका लागि सहकारीले सहजीकरण गर्दै आएको छ ।

कृषि कर्म गर्दै आएका कृषक र नयाँ पुस्तालाई कृषि कर्ममा जोडन, उन्नत गुणस्तरीय बीउ बीजन कृषक आफै उत्पालन गर्न सक्ने बनाउन, आधुनिक कृषि यान्त्रीकरणमा सहयोग गर्ने अवस्था सिर्जना गर्न र लघु उद्यमको विकास गर्ने उद्देश्यले वडा कार्यलयले सुरु गरेको कृषि मेला पछिल्ला वर्षमा सहकारीको नेतृत्वमा चल्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय