पाल्पाको कार्य सम्पादनमा तिनाउ पहिलो

पाल्पा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा पाल्पाका दश स्थानीय तह मध्ये तिनाउ गाउँपालिका पहिलो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले गरेका कार्य सम्पादनको आधारमा प्रकाशित नतिजामा तिनाउ पहिलो बनेको हो । आयोगले देशैभरीका स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा गरेको कार्य सम्पादनको मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको हो ।

जिल्लाका दश स्थानीय तहमा तिनाउ गाउँपालिकाले सबैभन्दा धेरै ७४ं दशमलव २ अंक प्राप्त गरी पहिलो भएको हो । यस्तैगरी बगनासकाली गाउँपालिकाले ७३ दशमलव ७ अंक ल्याएर दोस्रो र तानसेन नगरपालिकाले ७१ दशमलव ७ अंक ल्याएर तेस्रो भएका छन् । यसैगरी कार्यसम्पादन मूल्याङ्कनमा रिब्दीकोट गाउँपालिकाले ६५ दशमलव ७, रामपुर नगरपालिका ६६ दशालव १, पूर्वखोला गाउँपालिकाले ६१ दशमलव ९ ,रम्भा गाउँपालिकाले ५९ दशमलव ९, रैनादेवी छहरा गाउँपालिकाले ५८ दशमलव ४, माथागढी गाउँपालिकाले ५७ दशमलव ६ र निस्दी गाउँपालिकाले ५७ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहबीच सकारात्मक प्रतिस्पर्धा होस् भन्ने हेतुले आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार मूल्यांकन गर्ने गर्दछ । आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचकमा मूल्याङ्कन हुने गर्दछ ।

कार्यसम्पादन मूल्याङ्कनमा पहिलो बनेकोमा खुसी व्यक्त गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले जनप्रतिनिधिको खटाई र कर्मचारीहरुको सक्रियातामा पहिलो बन्न सफल भएको बताउदै राजश्व बाडँफाड र वित्तीय समानिकरण अनुदानमा हुने वृद्धिले समग्र पालिकाको विकासमा टेवा पुग्ने विश्वस समेत व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय