
पाल्पा । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले चालु आर्थिक वर्षमा भएको कार्यसम्पादन प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसका साथै कार्यक्रममा वडातहबाट संकलन गरिएको नागरिक सन्तुष्टि सर्भेक्षण र बर्हिगमन अभिमतको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिकाको सेवा प्रवाहमा सुधार भएको बताएका थिए । उनीहरुले हार्थोक छहरा सडक सुधारका कामका विषयमा, औद्योगिक ग्रामको कार्य प्रगति, सुन्तला महोत्सव कृषकमैत्री नभएको, पर्यटकीय क्षेत्रको विकास गर्दै आन्तरिक आम्दानी बढाउने योजनालाई प्राथमिकता दिनुपर्ने, बेसार विक्री वितरणका लागि गाउँपालिकाले मूल्य र बजारको सुनिश्चिता गर्नुपर्ने, तामा खानीका विषयमा विषय विज्ञ ल्याएर अध्ययन गर्नुपर्ने, उपभोक्ता समितिलाई जिल्ला दररेटका कारण परेको समस्या समाधानमा सहजीकरण गर्नुपर्ने, कृषि क्षेत्रमा प्राथमिकता तोकेर काम गरिएको भएपनि अनुगमन नभएकोलगायतका प्रश्न, विज्ञासा र सुझाव राखेका थिए ।
सहभागीले उठाएका विषयमा जनप्रतिनिधि र शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले गाउँपालिकाबाट सकेसम्म नागरिकलाई सहज हुनेगरी काम गरिरहेको बताउनुभयो । उहाँले आफूहरुले गलत नगर्ने र काम गर्दा केही कमजोरी देखिएमा तत्काल सुझाव दिए सुधार गर्न सकिने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले सुनुवाइ कार्यक्रममा प्रस्तुत नागरिक सन्टुष्टि सर्भेक्षण प्रतिवेदनले आफूलाई केही काम गरेजस्तो अनुभूति भएको बताउनुभयो । उहाँले नागरिकका लागि गरेको कामको परीक्षण गर्ने र सुधार गर्नुपर्ने विषयमा प्राप्त सुझावहरुलाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम संचार मन्च पाल्पाका सचिव कमल अधिकारीको सहजीकरण भएको हो ।