निस्दी रनिङ शिल्डको उपाधि सरस्वती माविलाई

पाल्पा । निस्दी गाउँपालिकामा सञ्चालित छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय निस्दी–५,गल्धाले जितेको छ ।

गएको माघ १५ गतेदेखि १७ गतेस्म्म निस्दीको खेल मैदान झ्याल्टुङ्गमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र १ कास्य पदक गरी कुल १३ पदक सहित पहिलो बन्न सफल भएको हो । त्यसैगरी जनता माध्यमिक विद्यालय निस्दी–५, ढुंगानाबेसीले ६ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर दोस्रो भएको छ । बालहित माध्यमिक विद्यालय निस्दी–२,सहलकोटले २ स्वर्ण, १ रजत र ४ कास्य सहित तेस्रो स्थान प्राप्त गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिनुभयो । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । छात्र ९ र छात्रा ९ विधा गरी जम्मा १८ विधा समाबेश रहेको प्रतियोगितामा निस्दीका १२ माध्यमिक विद्यालयहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

तीन दिनसम्म चलेको प्रतियोगिताको समापन सत्रमा लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले खेलकुदको माध्यमबाट आफ्नो गाउँ–ठाउँ र रास्ट्रको लागि योगदान गर्न सकिने बताउनुभयो । उहाँले खेलकुदले अनुशासित हुन र सामुहिक कार्य गर्न सिकाउने समेत बताउनुभयो ।

कार्यक्रमका पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले विद्यार्थीहरुले खेलकुदका साथसाथै शैक्षिक प्रगतिमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले निस्दी गाउँपालिका राजस्व संकलनमा पाल्पा जिल्लाकै नमुना गाउँपालिका रहेको बताउर्दै निस्दीको खानी र पर्यटकीय क्षेत्रहरूको संरक्षण र विकासमा योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय