
पाल्पा,माथागढी गाउँपालिकाले संचालन गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सौभाग्य माध्यमिक विद्यालय, चिदीपानीले जितेको छ । तीन दिनसम्म ३ नं. वडा कसेनी सराईमा सञ्चालन भएको प्रतियोगितामा १९ पदक जितेर सौभाग्य मावि पहिलो बनेको हो ।
सौभाग्य माविले ८ स्वर्ण, ६ रजत र ५ वटा कास्यपदक जितेको माथागढी गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक एलिना थपलियाले जानकारी दिनुभयो । यस्तैगरी किसान माध्यमिक विद्यालय, झडेवाले ७ स्वर्ण, तीन रजत र ४ कास्य पदकसहित दोस्रो भएको छ । प्रतियोगितामा ६ स्वर्ण ५ रजत र २ कास्यसहित दिव्यज्योति माध्यमिक विद्यालय तेस्रो भएको खेल संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिनुभयो ।
सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयहरु सहभागि प्रतियोगितामा सातपोखरी माध्यमिक विद्यालय र माउण्ट भ्याली माध्यमिक विद्यालयले १०÷१० पदक जितेका छन् । यस्तैगरी ग्रामोदय माध्यमिक विद्यालयले ९, कर्णाधार माध्यमिक विद्यालयले ७, रत्न माध्यमिक विद्यालय, हात्तीलुङ् माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय र महेन्द्र नरेश माध्यमिक विद्यालयले ३÷३ पदक जित्न सफल भएका छन् । यस्तै सनराइज पव्लिक माध्यमिक विद्यालयले एक पदक प्राप्त गरेको खेल संयोजक बाह्रघरेले जानकारी दिनुभयो । रनिङ् शिल्ड प्रतियोगितामा ज्याभलिन थ्रो, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा भएको थियो । यस पटक माथागढी गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न वजेटको व्यवस्था गरेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो ।
विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलकुद प्रतियोगिताले विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गराउने बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी हो भन्ने मान्यताका साथ प्रदेश सरकार अघि बढेको बताउर्दै उहाँले खेलका माध्यम्बाट निरोगी रहन सहयोग पुगेको बताउनुभयो । संसार खेलकुदकै माध्यम्बाट चिनिएको उल्लेख गर्दै हामीले पनि हाम्रो देश, समाज, परिवार र विद्यालयलाई चिनाउन असल संस्कार, सकारात्मक सोच र असल कर्मका साथ अगाडि बढ्नु पर्ने मन्त्री सारुको भनाइ थियो ।
बिहीबारदेखि चलेको रनिङ शिल्ड प्रतियोगिताको समापन सत्रमा बोल्दै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रतियोगिताले विद्यार्थीहरुमा खेलप्रति उत्साह थपेको बताउनुभयो । उहाँले माथागढी गाउँपालिकाले वजेटको व्यवस्थापन गरी चलाइएको प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो । खेलकुदका माध्यम्बाट आफ्नो र देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउर्दै प्रतियोगिता सम्पन्न गर्न सघाउने सम्पूर्णलाई अध्यक्ष चिदीले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खट्ने र सहयोग गर्ने रेफ्रीहरु धनपति गैरे, मोहन दर्लामी, प्रेमध्वज गाहा, नुरराज गैरे, दिनेश बस्याललाई सम्मान गरिएको थियो । यस्तै सहायक रेफ्रीको राजिव भट्टराई, प्रियाक चिदी, स्थानीय सामाजसेवी तथा समूहलगायतलाई सम्मान गरिएको सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले जानकारी दिनुभयो ।