
पाल्पा । जिल्लामा दश हजार ४ सय ५८ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउने तयारी भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका दश हजार ४ सय ५८ जना किशोरीलाई खोप लगाउने तयारी भएको हो ।
विद्यालयमा अध्ययनरत दश हजार ३ सय ८८ जना र विद्यालय बाहिर रहेका ७० जना गरेर दश हजार चार सय ५८ जना किशोरीलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले जिल्ला स्तरीय खोप समन्वय समिति बैठक तथा सञ्ञ्चारकर्मी अभिमूखीकरण कार्यक्रममा खोप अभियानका लागि दुई सय ३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको बताउनुभयो । खोप अभियानमा तीन सय १५ भ्याक्सिनेटर स्वास्थ्यकर्मी र छ सय २७ स्वयमसेवक परिचान हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचपीभी खोप अभियान दुई चरणमा सञ्चालन हुने छ । जस अन्तरगत पहिलो चरण माघ २२ गते देखि २६ गतेसम्म पाँच स्थानीय तह र र दोस्रो चरण माघ २८ देखि फागुन ४ गतेसम्म ५ स्थानीय तहका रहेका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका र विद्यालय नजाने १० वर्ष देखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । पहिलो चरणमा सञ्चालन हुने खोप अभियानमा रामपुर नगरपालिकामा एक हजार ९ सय ४३ जना, पूर्वखोला गाउँपालिकामा ५ सय ९६ जना, निस्दी गाउँपालिकामा सात सय ८९ जना, रम्भा गाउँपालिकामा छ सय १६ जना र माथागढी गाउँपालिकामा नौ सय ६१ जना गरी ५ हजार ५ जना किशोरीलाई खोप लगाइने छ । यसैगरी दोस्रो चरणमा तानसेन नगरपालिकामा दुई हजार ३ सय ९० जना, बगनासकाली गाउँपालिकामा पाँच सय ४६ जना, रैनादेवी छहरा गाउँपालिकामा एक हजार ७८ जना, रिब्दीकोट गाउँपालिकामा छ सय ५८ जना र तिनाउ गाउँपालिकामा सात सय ११ जना गरी पाँच हजार ३ सय ८३ जना किशोरीलाई खोप लगाइने फोकल पर्सन न्यौपानेको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पाठेघरको मुखको क्यानसरको रोकथामका लागि खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले खोप अभियान सफल बनाउन प्रचारप्रसारलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खोपका विषयमा समाजमा देखिएका केही गलत भ्रमहरु हटाएर ढुक्कका साथ किशोरीहरु खोप लगाउन आउने वातावरण सबै मिलेर बनाउनुपर्ने प्रमुख खनालको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खोप अभियानलाई सफल बनाउन प्रविधिको प्रयोग बढाउनु पर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालसहित डिजिटल मिडियाको प्रयोग गरेर खोपको फाइदा बारे जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले खोप अभियान सफल बनाउन मिडियाले आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खोप अभियानमा विद्यालयमा अध्ययरत किशोरीहरुलाई सम्बन्धित विद्यालयमा नै खोप लगाउने व्यवस्था गरिएको छ । विद्यालय बाहिरका किशोरीहरुलाई खोप सञ्चालन हुने नजिकको विद्यालय वा खोप अभियानको अन्तिम दिनमा वडाको स्वास्थ्य संस्थाबाट खोप सेवा प्रदान गरिने सूचना अधिकारी मधुसुधन भट्राईले जानकारी दिनुभयो ।