
पाल्पा । माथागढी गाउँपालिकामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । आज बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका १५ वटा विद्यालयका खेलाडी विद्यार्थीहरू सहभागी भएका छन् ।
प्रतियोगिताको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले विद्यार्थीमा अनुशासन र एकताको भावना जागृत गराउन खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । उहाँले माथागढीले विगतमा पनि जिल्लास्तरीय खेल सञ्चालन गर्न सफल भएको बताउदै गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूका बीचमा हुने प्रतिष्पर्धामा सहभागी विद्यार्थीहरु इमान्दार र अनुशासित भएर खेल्न आग्रह गर्नुभयो । माथागढी ३ कसेनी सराई क्षेत्रमा खेल क्षेत्रको पूर्वाधार निर्माण गरेर अगाडि बढ्न सकिने भएकाले त्यसका लागि आफूले आवश्यकता अनुसार पहल गर्दै आएको सांसद आचार्यको भनाइ थियो ।
कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले माध्यमिक तहका विद्यार्थीहरूले विभिन्न खेलमा प्रतिष्पर्धा गरेर आफूलाई अब्बल सावित गर्न आग्रह गर्नुभयो । सफल खेलाडीले गाउँपालिकास्तरीय प्रतिष्पर्धापछि जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने बताउदै अध्यक्ष चिदीले खेल क्षेत्रमा भाग लिएर विद्यार्थीले आफूलाई अनुशासनमा राखी आफ्नो प्रतीभा देखाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा संयोजक प्रकाश पाठकले प्रतियोगितामा दौड, हाइजम्प लङ्जम्प, कपड्डी, कराते, सटफुट, भलिबललगायतका खेलमा प्रतिष्पर्धा हुने बताउनुभयो । उहाँले प्रतियोगितामा १५ वटा विद्यालयका तीन सय विद्यार्थीहरूले भाग लिने र प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिनाले खेलकुद प्रतियोगिताले खेलाडी र दर्शकमा समेत राष्ट्रिय भावना एकीकृत गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष चिदीको अध्यक्षता, उपाध्यक्ष विष्णुमाया लुङ्चेको स्वागत, आयोजक विद्यालयको रुपमा रहेको दिव्यज्योति नमुना माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा सम्पन्न भएको हो ।