
पाल्पा । तिनाउ गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासकीय भवनको भोली शुक्राबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने भएको छ ।
भवन उद्घाटनका लागि आवश्यक तयारी तीव्र रुपमा गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीबाट हुने उद्घाटन समारोहमा उपस्थित हुन तिनाउ गाउँपालिकाका राजनीतिक दल, पूर्व जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा सम्र्पूण नागरिकलाई उपस्थितिका लागि सार्वजनिक रुपमा आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
तिनाउ गाउँपालिकाको सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन गाउँपालिकाले पहिलो चरणमा आर्थिक वर्ष २०७७÷७८ मा दुई करोड १३ लाख ८ हजार ८ सय ५६ मा भूइतलाको कार्य सम्पन्न गरी सेवा प्रवाह गर्दै आएको थियो । दोस्रो चरणमा आर्थिक वर्ष २०८०÷८१ मा पहलिो र दोस्रो तला थपका लागि तीन करोड ३ लाख ९० हजार १ सय ८९ मा खासी निर्माण सेवा काडमार्डौसंग २०८० असार ११ मा सम्झौता गरी भवन निर्माण कार्य अगाडि बढाइएको थियो ।
नयाँ बनेको भवनको भूइतलामा शौचालय, बैठक हलसहित ११ वटा, पहिलो तलामा १२ वटा कोठा र शौचालय र दोस्रो तलामा ४ कोठा सहित सुविधा सम्पन्न सभा हल रहेको सवइन्जिनियर हरिप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार अपांगमैत्री भवनका लागि पूर्वाधार तयार गर्न मिल्ने गरी भवन निर्माण कार्य भएको बताउनुभयो ।
सुविधा सम्पन्न भवन नहुँदा तिनाउमा पशु सेवा कार्यालयको भवन र घररभाडामा लिएर विषयगत शाखाको काम गर्नुपर्ने अवस्था रहेकोले नयाँ भवन निर्माण भएसंगै एउटै ठाउँमा प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार भएको प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली माघ ११ गते शुक्रबार विहान १० बजे हेलिकप्टरमार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिका आएर बगनासकाली गाउँपालिकाले १ नं. वडाको चिलाङ्दीमा निर्माण गरेको सुविधा सम्पन्न प्रशासकीय भवनको उद्घाटन सकेर १२ बजेर १५ मिनेटमा प्रधानमन्त्री ओली अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल प्रस्थान गरी साढे १२ बजे तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबा सुरुङ्गमार्गको ब्रेक थ्रु र मन्दिर शिलान्यास गरी दिउँसो २ बजे बुटवल गोरुसिङ्गे चार लेनको सडक शिलान्यास सभालाई सम्बोधन गर्ने जितगढी पुगेर साढे ३ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलबाट हेलिकप्टरमै काठमाण्डौ फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।









