सकियो पाल्पामा हुलाक कार्यालयको पुनर्संरचना

पाल्पा । जिल्लामा हुलाक कार्यालयको पुनर्संरचनाको काम सकिएको छ । जस अनुसार दश स्थानीय तह मै हुलाक कार्यालय स्थापना गरिएको छ । संघीयताको कार्यान्वयनका सन्र्दभमा एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना गरी हुलाक कार्यालयको पुनर्संरचना गर्ने नीति अनुसार प्रत्यक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालय पाल्पाले जनाएको छ ।

यो संगै यसअघि जिल्लामा रहेका १३ वटा इलाका हुलाक कार्यालयलाई नाम परिर्वतन गरेर पुनर्संरचना गरी हुलाक कार्यालय बनाइएको हो । अहिले निस्दी, रामपुर, पूर्वखोला, माथागढी, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, बगनासकाली र रम्भा र तानसेनमा पालिकास्तरीय हुलाक कार्यालय स्थापना गरी सेवा सुचारु गरिएको जिल्ला हुलाक कार्यालय पाल्पाका सूचना अधिकारी टंक भण्डारीले जानकारी दिनुभयो । उहाँले पालिकासँगको समन्वयमा स्थानीय तहमा हुलाक कार्यालयको सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।

यस्तैगरी जिल्लामा रहेका साबिकका ५२ अतिरिक्त हुलाक कार्यालयमध्ये आठ वटा खारेज भएका छन् । सरकारले अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी ५८ वर्ष उमेर पुगेको अवस्थामा त्यस कार्यालयलाई स्वतः खारेज गर्ने व्यवस्था अनुसार खारेजीमा परेका हुन । सोही व्यवस्था अनुसार पाल्पाका आठ वटा अतिरिक्त हुलाक कार्यालय खारेजीमा परेका हुन । अब जिल्लामा ४४ वटा मात्र अतिरिक्त हुलाक कार्यालयसहित दश पालिकामा दश वटा पालिका स्तरीय हुलाक कार्यालयबाट सेवा प्रवाह हर्दै आएको छ । अतिरिक्त हुलाक कार्यालय मापदण्ड अनुसार क्रमिक रुपमा खारेजी हुँदै जाने छ ।

कुनै समय चिठ्ठीपत्र आदानप्रदानका लागि अत्यन्त प्रभावकारी मानिएको हुलाक कार्यालय पछिल्लो समय सूचना प्रविधिको विकास संगै कमजोर बनेको थियो । न्यून संख्यामा हुने चिठ्ठीपत्र र हुलाकबस्तुको कामले हुलाक कार्यालयको सेवा साँघुरो बन्दै गएको छ । पुरानो संरचना र भूगोलका कारण पनि काम प्रभावकारी रुपमा सम्पादन गर्न असहज भएको समयमा कार्यालयको पुनर्संरचनाले सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास कार्यालयको रहेको छ । कार्यालयले दिने सेवामा सेवाग्राहीहरु हरेक वर्षजसो घट्दै गएकोले पालिकास्तरमा कार्यालय स्थापना भएपछि सेवाग्राहीको संख्यामा केही भएपनि वृद्धि हुने जिल्ला हुलाक अधिकृत जयदीप पन्थीको विश्वास छ । यसका साथै सेवा प्रवाहमा पनि सहजता हुने उहाँको भनाइ छ । सूचना र प्रविधिको विकाससँगै हुलाक कार्यालयबाट सेवा लिने सेवाग्राहीको संख्यामा कमि आएको भएपनि सरकारी निकाय र अन्य व्यक्तिको पालिका केन्द्रित हुलाक बस्तु धेरै आउने गरेको हुलाक कार्यालयले जनाएको छ ।

गत आव २०८०÷०८१ मा जिल्ला हुलाक कार्यालय पाल्पाले २१ हजार ३ सय ४० वटा साधारण, रिजिष्ट्र चिठ्ठीपत्र, पत्रपत्रिका, बुकपोष्ठ, बिमा चिठ्ठी, इएमएस आदानप्रदान गरेको थियो । चालु आर्थिक वर्ष २०८१÷८२ को पुस मसान्तसम्ममा कार्यालयले आयाततर्फ साधारण चिठी, रजिष्ट्रि चिठी, बिमा चिठी, साना पाकेट, र.पु., बुकपोष्ट, पत्रपत्रिका इएमएसको दर्ता पाँच हजार ८ सय १३ र आयात तीन हजार ५ सय ४७ गरेको छ भने निर्याततर्फ जम्मा ९ हजार ३ सय ६० हुलाकबस्तुको सेवा दिएको कार्यालयले जनाएको छ । करूवा पत्रिकाबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय