
तानसेन । पाल्पा चेम्बर अफ कमर्सले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वसंग परिचयात्मक तथा बधाई ज्ञापन कार्यक्रम गरेको छ ।
सोमबार चेम्बर अफ कमर्सले आफ्नै कार्यालयमा गत मंसिर २८ गते निर्वाचित महासंघका अध्यक्ष कमलराज तिमिल्सिनासहित पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै जिल्लामा पत्रकारितासंग सम्बन्धित संगठनका प्रमुखहरुलाई कार्यलयमा स्वागत समेत गरिएको छ ।
कार्यक्रममा पाल्पा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुबहादुर कार्कीले पत्रकार महासंघ र चेम्बरका बिच एक आपसमा परिचित हुने, बधाई तथा शुभकामना आदनप्रदान गर्नु साथै पाल्पाको व्यापार, व्यवसाय, उद्योग क्षेत्रको विकास, क्षमता विकास, प्रोत्साहन र संरक्षणका विषयमा पत्रकारहरुबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले व्यापारी र पत्रकारहरु सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । पछिल्लो समय जिल्लामा व्यापारीहरु अडिने अवस्था नभएको बताउर्दै अध्यक्ष कार्कीले यस विषयमा सबै पक्ष गम्भीर भएर व्यापारी टिक्ने वातावरण निर्माणमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष चिरन्जीवि पोखरेलले सूचनामा शक्ति भएकोले सही सूचना प्रवाहमा पत्रकारहरु क्रियाशील हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले सत्य तथ्य समाचार समयमा बाहिर ल्याउदा धेरै समस्या समाधान हुने बताउदै संस्थापक अध्यक्ष पोखरेलले तानसेनको व्यापार व्यवसायमा टेवा पुग्ने गरी पत्रकारहरु संग चेम्बरले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पहिलो पटक महासंघको निर्वाचित कार्य समितिलाई चेम्बरले बधाई ज्ञापनसहित सुझाव संकलन गरी सहकार्यको सुरुवात गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले व्यापारीहरु उपभोक्तामैत्री भएर काम गर्दा पत्रकारहरुको आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय उद्योगी, व्यापारीहरुसंगै स्थानीय मिडियाको सवलीकरणका विषयमा चेम्बरले ध्यान दिनुपर्नेमा जोड दिँर्दै अध्यक्ष तिमिल्सिनाले गुण र दोषका आधारमा चेम्बरसंग सहकार्य गरिने बताउनुभयो ।
परिचयात्मक तथा बधाई ज्ञापन कार्यक्रममा चेम्बरका निर्वतमान अध्यक्ष बामदेव बस्याल, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियनका सभापति मन गहिरे, प्रेस सेन्टरका अध्यक्ष कृष्ण दर्नाल, समाजवादी प्रेस सेन्टरका अध्यक्ष पदमप्रसाद गैरे, चम्बरका उपाध्यक्ष कमल ढकाललगायतले पाल्पालाई शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटनको हव बनाउनुपर्ने बताउनुभयो । उहाँहरुले भाषण भन्दा काममा ध्यान दिएर व्यापारीहरुको हित केन्द्रित गतिविधि गर्दा पत्रकारहरुको सहयोग मिल्ने बताउनुभयो । अहिले तानसेनमा साझ ८ बजेपछि आउने पर्यटकले खान बस्न समस्या भोग्नु परेको, बजार क्षेत्र भित्र पार्किङको समस्या भएको, ग्रामीण बजारको तुलनामा खाद्य तथा लताकपडाको मूल्य बढी हुने गरेकोले यस्ता विषयमा उपभोक्तालाई राहत हुनेगरी चेम्बरले सहजीकरण गर्नुपर्नेमा सहभागीहरुले जोड दिएको चेक्बरका महासचिव तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।