ट्राफिक प्रहरीको सक्रियतामा सडकमै चालकको स्वास्थ्य परीक्षण

पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको सक्रियतामा ७२ जना चालकको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । पाल्पा अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।

सडक र सवारी हामी सबैको जिम्मेवारी, अस्वस्थ हुँदा सवारी नचलाऔं, समय समयमा स्वास्थ्य परीक्षण गराऔं भन्ने नाराका साथ सोमबार सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडक खण्डको लामिडाँडामा सवारी चालकको आँखा तथा प्राथमिक स्वास्थ्य परीक्षण गरिएको हो ।

पछिल्लो समय जिल्लामा सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई तीव्रता दिएको ट्राफिक प्रहरीले सडकमै चालक र सहचालकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले चालकको आँखा र उच्चरक्तचाप जस्ता स्वास्थ्य समस्याले गर्दा दुर्घटना हुने गरेकोले चालकको स्वास्थ्य समस्या पहिचान, परामर्श सेवाका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले जिल्ला अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गरेको बताउर्दै यस्ता कार्यक्रमले जिल्लाको सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद खनालले जिल्लामा सडकको अवस्था कमजोर रहेको र कार्य व्यस्तताले चालकले नियमित रुपमा आफ्नो स्वास्थ्य परीक्षण नगर्ने र खानपानका साथै उच्च रक्तचापका कारण दुर्घटना हुनसक्ने भएकोले स्वास्थ परीक्षण सहित सचेतना कार्यक्रम गरिएको बताउनुभयो ।

स्वास्थ्य परीक्षणमा सहभागि चालक सोमबहादुर रानाले बिरामी नहुँदासम्म स्वास्थ्य परीक्षण गर्ने नगरेको बताउदै सडकमै निशुल्क रुपमा स्वास्थ्य सेवा र परामर्श पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले नियमित रुपमा चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम आयोजना गर्दा स्वास्थ्य समस्याको पहिचान र समयमै उपचार गर्ने अवस्था निर्माण हुने बताउनुभयो ।

सम्बन्धित खवर