
पाल्पा । तानसेनदेखि पोखरासम्म विद्युतीय गाडी (इभी) संचालनमा आएपछि यात्रु तथा पर्यटकहरुलाई सहज भएको छ । सुविधायुक्त वातावरण मैत्री एसीसहितको इभी गाडी संचालनमा आएपछि पोखरा पुग्न र पोखराबाट पाल्पा आउन अत्यन्तै सहज भएको विद्युतीय गाडीमा यात्रा गर्नुभएका बगनासकाली ४ खानीछापका गोपाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस अधि तानसेनदेखि पोखरासम्म सिधा यात्रा गर्नका लागि पाल्पाबाट कुनै पनि सवारीसाधान संचालनमा नहुँदा यात्रुलाई तानसेनको बर्तुङपुगेर बुटवलबाट आएको सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
यात्रुहरुको मागलाई मध्यनजर गर्दै सारा ट्राभल्सले पहिलो पटक तानसेनदेखि पोखरा र पोखरादेखि पाल्पा इभी गाडी संचालनमा ल्याएको ट्राभल्सका प्रबन्धक निर्देशक तारा खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्यक दिन ११ सिट क्षमताको इभी विहान ७ बजे तानसेनदेखि पोखराका लागि छुट्ने गाडी दिउँसो ३ बजे पोखरा पुग्ने गरेको छ । यस्तै गरी पोखराबाट पनि दैनिक विहान ७ बजे छुटेर दिउँसो ३ बजे तानसेन आउने गरेको बताउनुभयो । सेवाका लागि अग्रिम टिकट बुक गर्नेका लागि ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । बजार क्षेत्रका यात्रुहरुलाई घरघरमै लिन जाने र गन्तव्यमा पनि सम्बन्धित स्थानमै छोड्ने व्यवस्थासहित व्यवसायिक रुपमा पर्यटक क्षेत्रको विकासमा सघाउने उद्देश्यले सेवा सुरु गरिएको प्रबन्धक निर्देशक खरेलको भनाइ छ ।
तानसेनदेखि सिधा पोखराका लागि इभी सेवा उपलब्ध भएपछि प्रशासनिक तथा घुमघामका लागि हिड्ने यात्रुहरुलाई सहज भएको छ । एकल वा पारिवारिक रुपमा सस्तो सहज र आरामदायी यात्रा गर्न पाउँदा यात्रुहरुको रोजाइ इभी सेवा बन्दै गएको संचालकको भनाइ छ । यात्रुहरुको माग र सुझाव अनुसार सेवाका लागि गाडी थप गर्नुका साथै सेवा प्रभावकारी बनाउदै लैजाने योजना रहेको ट्राभल्सले जनाएको छ ।







