
पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा ढोलीमारामा गरिएको सामुहिक किवी खेतीको आम्दानी बढ्दो क्रममा रहेको कृषकले बताएका छन् । हरेक वर्ष उत्पादनमा आएको वृद्धिका कारण आम्दानी बढेको हो । जसबाट कृषकहरु उत्साहित भएका छन् । पटक पटक गरी करिब ३० रोपनी जग्गाको क्षेत्रफलमा लगाइएको ८ सय बोटबाट आम्दानी हुन थालेपछि कृषकहरु खुसी भएका छन् । यस वर्ष ७ कुइन्टल ११ केजी बढी किवी टिपिएको छ । किवी विक्रीबाट यस यस वर्ष करिब दुई लाख आम्दानी हुने अनुमान गरिएको जल्पादेवी कृषक समूह किवी खेतीका संयोजक भिमबहादुर सारुले बताउनुभयो । यस क्षेत्रमा समूह र अन्य इच्छा भएका व्यक्तिहरुले पनि किवी खेती लगाएका छन् । समूहले जग्गा भाडामा लिएर किवी खेती गरेको छ । आम्दानी नहुँदासम्म जग्गा भाडा तथा अन्य खर्च किवी खेती भित्र तरकारी खेती गरेर व्यवस्थापन गर्दै आएको र अहिले आम्दानीमा वृद्धि भएकोले अन्य खर्च कटाएर बाँकी भएको रकम समूहका सदस्यलाई बाड्ने योजना रहेको संयोजक सारुको भनाइ छ ।
ढोलीमारा गाउँका ६० जना कृषकहरु समूहमा आबद्व भएर काम गरिरहेका छन् । किवीको बिरुवा रोपेको ३/४ वर्षदेखि फल्न सुरु गर्छ । २०७३ सालदेखि नै किवीका बिरुवा लगाउन सुरु गरेको जल्पादेवी कृषक समूहका अध्यक्षय भिमबहादुर सारुले बनाउनुभयो । गत वर्षहरुमा कम उत्पादन भएको कारण स्थानीय बजारमै खपत भएको किवी यस वर्ष उत्पादनमा वृद्वि भएका कारण अन्यन्त्र विक्रीका लागिएको उहाँको भनाइ छ । किवीलाई ग्रेडिङ गरी प्रतिकिलो ए ग्रेडकोलाई चार सय बि ग्रेडलाई तीन सय पचास मूल्य निर्धारण गरी विक्री गरिएको समूहले जनाएको ंछ । किवी, पोषकतत्वले भरिपूर्ण र यसको महत्व बारे उपभोक्तालाई थाहा भएर नै होला, टाढासम्म बजार खोज्नु नपरेको र समूहकै जिम्मेवारीमा विक्री भैरहेको अध्यक्ष सारुले बताउनुभयो ।
सामुहिक एकता र कृषकको सक्रियताले पाएको सफलतामा पूर्वखोला गाउँपालिका, २ नं. वडा कार्यालय र डिभिजन वन कार्यालय पाल्पाको सहयोग रहेको छ । यस वर्ष कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको समूहले जनाएको छ । समुद्री सतहदेखि एक हजार दुईसय मिटर उचाँईमा उत्पादन गर्न सकिने किवी खेती परीक्षण गर्दा राम्रो उत्पादन भएपछि समूहमा लगानी गरी, व्यक्तिको जीवनस्तर उकास्न, आर्थिक समृद्विका व्यावसायिक खेती गर्न लागिएको हो । जसमा कृषकको माग अनुसार गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले कृषिबाट नागरिकको आर्थि अवस्था सुधारका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । पहिलो वर्ष डिभिजन वन कार्यालयबाट बिरुवा सहयोग प्राप्त भएकोमा गाउँपालिकाबाट तारजाली, फलामका ट्रष्ट सहयोग उपलब्ध गराइएको अध्यक्ष थापाको भनाइ छ । यस आर्थिक वर्षमा पनि क्षेत्र विस्तारको लागि योजना रहेको वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिनुभयो । हरेक दिन, जनश्रमदानमा जुट्ने कृषकहरु किवीको उत्पादनमा आएको वृद्धिले उत्साहित भएका छन् । जसबाट उनीहरुले आफ्नो लगानी छिट्टै उठ्ने विश्वासका साथ काम गरिरहेको समूहमा आबद्ध कृषकहरुको भनाइ छ । करूवा पत्रिकाबाट