पाल्पा व्यापार संघको अध्यक्षमा कार्की

तानसेन । पाल्पा व्यापार संघ पाल्पाको अध्यक्षमा विष्णुबहादुर कार्की चयन हुनुभएको छ । संघको शनिबार सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा कार्की सहति संघको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।

बरिस्ठ उपाध्यक्षमा कमल ढकाल, खुल्ला उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा सितम भन्डारी, महासचिवमा तुल बहादुर अधिकारी, कोषाध्यक्षमा कपिल कृष्ण कार्की, सचिवमा नारायण बस्याल र अम्बिका तिमिल्सिना रहनुभएको छ । यसैगरी सदस्यहरुमा लक्ष्मण गौतम, उमा अर्याल, गोकुल पौडेल, सपना शाही, शशी श्रेष्ठ, धनकुमारी पाठक, रिता पाण्डे, प्रज्ञा सागर शाक्य, विनोद खाती, कल्पना पोख्रेल र रवीन्द्र आचार्य रहनुभएको निर्वाचन समितिका संयोजक नारायण ज्ञवालीले जानकारी दिनुभयो ।

सधारण सभा तथा अधिवेशनमा राज्यका निर्देशक सिद्धान्त–नीति र दायित्वको कार्यन्वयन–अनुगमन तथा मुल्याङ्कन समितिका सभापति तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले संघ उद्योगी व्यावसायी पेसागत हित संरक्षण गर्दै राष्ट्र निर्माणमा सहयोगी बन्नु पर्ने बताउनुभयो । उहाँले उत्पादित वस्तु गुणस्तरीय बनाई मुलुक आत्मनिर्भर हुँदै निर्यातका लागि सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले “पाल्पाको स्थानिय उत्पादनको प्रवद्र्र्धन तथा व्यापार संघका उद्योगी व्यापरीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकार जनताका आधारभूत आवस्यकता पूरा गराउन लागि परेको समेत जानकारी गराउृनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले स्थानीय उत्पादनलाई प्रवद्र्र्धन गर्ने, आयात प्रतिस्थापन गर्ने योजना सहित अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।

संघका निर्वतमान अध्यक्ष चिरञ्जीवि पोखरेलले स्थानीय सरकारहरुले व्यापारीहरुलाई प्रोत्सहान गर्नुपर्नेमा आफै मेला महोत्सव गर्नु गलत रहेको बताउनुभयो । उहाँले पछिल्लो समय जिल्लाका केही पर्यटकीय क्षेत्रमा विभिन्न वहानामा उठाइने शूल्कमा एक रुपता हुनुपर्ने बताउर्दै व्यापारीहरुलाई कर बढाउने भन्दा करको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनुभयोे ।

लुम्बिनी चेम्बर अफ कमर्सका अध्यक्ष टंक पोखरेलले सरकार व्यापारीमैत्री नभएको बताउनुभयो । उहाँले देशको समृद्धिका लागि सरकारले उद्योग सञ्चालन र बजारीकरणमा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष कार्कीले विभिन्न कारणले गर्दा समस्यामा परेका पाल्पाली उद्योगी व्यापारीहरुको उच्चतम हितमा आफूले समन्वयात्मक रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष बामदेव बस्यालको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर