पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पा । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्र्ष तीन दशमलव ६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

गत वर्ष ३४ हजार ७ सय ६२ मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३६ हजार आठ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । उहाँले गत वर्ष जिल्लाको धान उत्पादकत्व चार दशमलव २ मात्र रहेकोमा यो वर्ष बढेर ४ दशमलव ६ पुगेको बताउनुभयो ।

पर्याप्त वर्षा हुँदा टारी खेतमा समेत धान खेती भएको थियो । धान खेती हुने क्षेत्रफलमा वृद्धि, मल, बीउ सहज रुपमा उपलब्ध हुनु जस्ता कारणले उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख चौधरीको भनाइ छ । पाल्पामा यो वर्ष आठ हजार ६ सय २० हेक्टर क्षेत्रमा धान खेती भएको थियो । गत वर्ष आठ हजार २ सय हेक्टर क्षेत्रमा मात्र खेती भएको थियो । यो वर्ष धान खेतीमा रोगको प्रकोपले कम क्षति गरेको थियो ।

उन्नत र हाइब्रिड जातका धान खेती बढ्नु, धान बालीका लागि आवश्यक हेरचाह पुग्नुले पनि उत्पादन सहयोग पुगेको केन्द्रका सूचना अधिकारी रामसुरत पालले बताउनुभयो । पाल्पाको प्रमुख बालीको रुपमा रहेको धान खेती गर्न कृषि औजार र प्रविधिको पनि प्रयोग बढ्दै गएको छ । कृषियन्त्रको प्रयोगले धान खेती सहज बन्दै गएको किसानको अनुभव छ । धान खेतीमा ट्याक्टर, रोलाभेटर, थ्रेसर, धान रोप्ने र काट्ने मेसिनको प्रयोग र गाउँगाउँमा स्थानीय, प्रदेश तथा संघीय सरकारको सहयोगमा सिँचाइ आयोजना कार्यक्रम सञ्चालनमा आएपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्ेको हो । जसबाट धान उत्पादनमा वृद्धि भएपछि किसान खुसी भएका छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायतका कारणले पनि धान उत्पादन बढेको हो ।

जिल्लामा सावित्री, साँवामन्सुली, रामधान, हाइब्रिड, उन्नतलगायत जातका धान चलनचल्तीमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय बीउ उपलब्ध गराउन थालेपछि विगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रूपमा बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय