
पाल्पा । रैनादेवी छहरा ५ कटौजेपानी खेल मैदानमा मंसिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ । सुन्तलाको बजार प्रवद्र्धन गर्ने उद्देश्यले रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रुपमा सुन्तला महोत्सव गर्ने तयारी गरेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
दुई पालिकाका भित्रका सुन्तला किसानले उत्पादन गरेको सुन्तलाको बजार खोजी गर्न महोत्सव गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सुन्तलाको बजार खोजी गर्दै नयाँ, ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्न महोत्सव गर्न लागेको रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो ।
सुन्तलाको व्यावसायिक उत्पादनमा लागेका किसानलाई महोत्सवले प्रोत्साहन गर्ने उहाँले बताउनुभयो । महोत्सवले सुन्तला उत्पादन गर्दाका सिकाइ र अनुभव आदान–प्रदान र बजारको सुनिश्चितता गर्न सहयोग पुग्ने बताइएको छ ।
महोत्सवमा सुन्तलाका दाना, जुस, जाम तथा अन्य बस्तुको समेत प्रदर्शन गरिनेछ । यस्तै, सुन्तलाजन्य कृषि बस्तु कागती, अमिलो, जुनार, मुन्तला पनि महोत्सवको स्टलमा रहने रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो ।
महोत्सवमा सुन्तलाको खेती गरिरहेका र सुन्तला खेती गर्न रुचि राख्ने किसानलाई यसको व्यावसायिक खेती, सुन्तलामा लाग्ने रोग तथा यसबाट बच्ने उपायबारेमा समेत सहजीकरण गरिनेछ । हाल रिव्दीकोट गाउँपालिकाका पाँच र रैनादेवी छहराका चार वडामा सुन्तलाको व्यावसायिक खेती हुँर्दैै आएको रिब्दीकोट ७ पालुंगमैनादीका वडाध्यक्ष दानबहादुर कुवरले बताउनुभयो ।
गत वर्ष यस क्षेत्रबाट मात्र करिब ९ करोडको सुन्तला निर्यात भएको थियो । त्यसमध्ये सबैभन्दा बढी यी दुई पालिकाबाट सुन्तला विक्री भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले बताउनुभयो । पाल्पामा सुन्तला खेती बिस्तारका लागि स्थानीय पालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सुन्तला जात तथा फलफूल विकास केन्द्रले काम गर्दै आएका छन् । गत वर्ष रिब्दीकोट ७ पालुंगमैनादीमा प्रथम सुन्तला महोत्सव गरिएको थियो । अहिले महोत्सवबाट धेरैभन्दा धेरै कृषकहरुले फाइदा लिन सक्नेगरी संयुक्त रुपमा महोत्सव गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृतले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले महोत्सव भन्दा पनि कृषकलाई फाइदा हुनेगरी काम गर्न सुझाव दिएका थिए । उनीहरुले चिस्यान केन्द्रस्थापना गरी सुन्तला भण्डारन गरेर बेमौसममा विक्री गर्ने व्यवस्था मिलान समेत आग्रह गरेका थिए । करुवा पत्रिकाबाट