रम्भाको रानीबासमा होमस्टे सञ्चालनको तयारी

पाल्पा । रम्भा गाउँपालिका कार्यालयले २ नं. वडा फोक्सिङ्गकोटमा घरबास (होमस्ट) सञ्चालनका हुने भएको छ ।

गाउँपालिकाको उद्यम विकास समितिको अगुवाइमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्याल, वडा नं २ का वडाध्यक्ष चेतबहादुर सुनारीलगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको उपस्थितिमा फोक्सिङ्गकोट, रानीवासमा होमस्टे सञ्चालनको सम्भावना, अवसर, चुनौती विषयमा छलफलमा कार्यक्रममा स्थानीयवासीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेपछि होमस्टे सञ्चालनको तयारी अगाडि बढेको हो ।

होमस्टे सञ्चालनका लागि आवश्यक प्रकृति, संस्कृति र रैथानेवाली जिल्लाकै नमुनाका रुपमा रहेकोले रानीवासमा होमस्टे चलाउने तयारी गरेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले आगामी माघ मसान्तभित्र २० घरमा घरबास कार्यक्रम सुरु गर्ने गरी काम भएको बताउनुभयो । गाउँपालिका भित्र रहेका प्राकृतिक तथा एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने पाहुनालाई स्थानीय अर्गानिक उत्पादन खुवाउने र नागरिकको आयआर्जन वृद्धिमा सघाउने उद्देश्यले होमस्टे सञ्चालन गर्न लागिएको अध्यक्ष भण्डारीको भनाइ छ । जसका लागि आवश्यक पूर्वाधार निर्माण स्थानीयवासीले गरिरहेका छन् भने पहुँच सडक निर्माण, क्षमता विकास र प्रचारको काम गाउँपालिकाले गरिरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले रानीबास पुग्ने सडक मर्मतसहित दुईबटा प्रवेशद्धार निर्माण, सीप विकास र व्यवसाय सञ्चालन सम्वन्धी तालिम उपलब्ध गराउनुका साथै, प्रचार प्रसारका लागि आवश्यक काम गर्ने र अन्य पाहुनालाई राख्ने कोठा व्यवस्थापनलगायतका काम स्थानीयले गर्ने सहमती अनुसार काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो । उहाँले कार्यक्रमका लागि ६ लाख बजेट विनियोजन भएको भएपनि आवश्यकता अनुसार स्रोत व्यवस्थापन गरी काम गरिने बताउनुभयो ।

होमस्टे सञ्चालनमा आएपछि गाउँपालिका भित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा थप सहयोग पुग्ने अध्यक्ष भण्डारीको विश्वास छ । यस गाउँपालिका भित्र रहेका रम्भा देवी मन्दिर, झोकेदी टिमूरडाँडा, रिमिघालेक, लुप्च पोखरा, कालीगण्डकी उत्तरवाहिनी क्षेत्र, हुमिनको रैया, हुँगी र पिपलडाँडाका धार्मिक क्षेत्र सङ्गै प्याराग्लाइडिङ्ग र कालिगण्डकीमा र्याफटिङ्गलाई एकीकृत गरी पर्यटन विकास गर्ने योजना रहेको गाउँपालिकाको योजना रहेको छ ।

होमस्टे सञ्चालनको तयारी स्वरुप ३१ जनालाई पाँच दिने तालिम गरिएको छ । उनीहरुलाई होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष धनिश्वर बश्याल र केन्द्रीय कोषाध्यक्ष सुरज बास्तोलाले अतिथि सत्कार, स्थानीय खाना र खाजा, स्थानीय संस्कृति, असल संस्कार, सरसफाई, स्थानीय पर्यटकीय क्षेत्रका विविध विषयमा जानकारी गराउनुभएको छ ।

तालिम समापन कार्यक्रममा रम्भा गाउँपालिका २ का वडाध्यक्ष चेतबहादुर सुनारी, प्रशिक्षार्थी देउकुमारी सारू, बिरबहादुर गुरुङ्गलगायतले तालिमले होमस्ट सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत ज्ञान प्राप्त भएको बताउनुभयो । उहाँहरुले सिकेका कुरा पाहुनालाई स्वागत सत्कारमा लगाउने प्रतिचबद्धता व्यक्त गर्नुभयो । प्रशिक्षक धनिश्वर बश्याल र सुरज बास्तोलाले रानिबास होमस्टे अत्यन्तै सफल हुने विश्वास व्यक्त गर्दै एक पटक आउने पाहुनालाई फेरी आउने र अरुलाई पनि एक पटक रानीबास पुग्ने वातावरण सिर्जना गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको रानीबास होमस्टे संचालन समितिका अध्यक्ष बबीसरा सारूले बताउनुभयो । करूवा पत्रिकाबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय