
पाल्पा । नेकपा एमाले रैनादेवी छहरा गाउँकमिटीको अध्यक्षमा शेषकान्त पोखरेल चयन हुनुभएको छ ।
गाउँकमिटीको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा ४१ सदस्य नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा रेमबहादुर राना, सचिवमा धनबहादुर रायमाझी, उपसचिवमा यमबहादुर बुढाथोकी र बिमा पुन चयन हुनुभएको छ ।
दोस्रो अधिबेशनलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिब्युरो सदस्य तथा जिल्ला इन्चार्ज ठाकुरप्रसाद गैरेले देशलाई निकास र विकासमा अगाडि लैजाने एक मात्र पार्टी भनेको नेकपा एमाले रहेको बताउनुभयो । उहाँले जसका लागि एमालेको एकल सरकार आबश्यक रहेको समेत बताउनुभयो । जनताको साथमा एमाले सधै रहने भएकाले पाल्पामा लामो समयदेखि एमाले पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएको बताउनुभयो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनुभएका सांसद गैरेले जिल्लाको पश्चिम क्षेत्र मेहेलढाप, छहरा, तानसिङल , सिद्देश्वर, सोमादी हुँदै रिडी मनभागसम्म रहेका विभिन्न संरचनामा आफूले पहलकदमी गरेको समेत जानकारी दिनुभयो ।
अधिबेशनमा नेकपा एमालेका जिल्ला अध्यक्ष ओम बहादुर घर्तीमगरले पार्टीको सिद्धान्त र नीति अनुसार तल्लोस्तरसम्म संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका राम्रा कामको प्रचार नभएको बताउर्दै टोलस्तरसम्म राम्रा कामको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले नेता तथा जिल्ला समन्वय समित प्रमुख टंकनाथ खनालले अहिले सही र गलत छुट्याउन सक्ने कार्यकर्ता आवश्यक रहेको बताउनु्भयो । उहाँले पार्टी बलियो बनाउन इमान्दार भएर संगठन निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।
लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले रैनादेवी छहरामा स्थानीय तहको निर्वाचन प्राविधिक कारणले हारेपनि मतका हिसावले पार्टी बलियो भएको बताउनुभयो । उहाँलेपार्टीलाई यस उचाँइसम्म ल्याउन खटने निर्वतमान कमिटीलाई धन्यवाद ज्ञापन समत व्यक्त गर्नुभयो । जनसम्पर्क सल्लाहकार राउतले अहिले हामीले २०८४ को लागि चित्र तयार गरेको बताउर्दै आगामी स्थानीय तहको निर्वाचनमा प्रचण्ड बहुमतका साथ रैनादेवी छहरा गाउँपालिकामा एमालेको नेतृत्व सुनिश्चित हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
एमाले पाल्पाका सचिव रामजी पोखरेल, गाउँपालिका इन्चार्ज राम प्रसाद ज्ञवालीलगायतले नवनिर्वाचित पार्टी नेतृत्वलाई शुभकामना दिँर्दै पार्टीलाई चलायमान बनाउन क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । अधिबेशनमा पार्टीका अध्यक्ष दान बहादुर थामीले राजनीतिक तथा सांगठानिक प्रतिबेदन सुनाउदै पार्टीले गरेका विभिन्न गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।