पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पाल्पा अस्पतालले छिटै शल्यक्रिया सेवा सुरु गर्ने बताउनुभएको छ । उहाँले प्रदेश सरकारले अस्पतालको माग अनुसार शल्यक्रिया सेवा सुचारु गर्न अस्पताल सुदृढीकरण कार्यक्रम अन्तरगत ५० लाख रकम विनियोजन गरिएको जानकारी दिनुभयो । सीमित स्रोत साधनका बिच पाल्पा अस्पतालले अधिकतम रुपमा गुणस्तरीय सेवा प्रवाह गर्दै आएकोले न्यूनतम सेवा मापदण्डको नतिजामा गत वर्षभन्दामा दश प्रतिशत वृद्धि गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सरोकारवाला सबैलाई बधाई ज्ञापन गर्नुभयो ।
पाल्पा अस्पतालले बुधबार आयोजना गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तरगत पाल्पा अस्पतालको अनुगमन मुल्याँकन तथा समीक्षा कार्यक्रममा मन्त्री सारुले सुशासन र आर्थिक नियमितताका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको गुनासोलाई सम्बोधन गर्न आवास व्यवस्थापनका लागि कार्यविधि बनाएर लागु गर्ने चरण रहेको जानकारी गराउनुभयो । सेवा सुविधाको शुल्क सहितको बडा पत्र मापदण्ड अनुसार राख्न कडाइ गर्नुका साथै मन्त्री सारुले मानसिक स्वास्थ्य समस्याको अवस्था गम्भीर बन्दै गएकोले न्यूनीकरणका लागि मनोपरामर्श, प्रजनन् स्वास्थ्य र बालविवाह न्यूनीकरणमा सेवा दिनेगरी स्वास्थ्यकर्मी तयार गरिएको बताउनुभयो । यसका साथै प्रदेश सरकार स्वास्थ्यकर्मी र कर्मचारीको वृद्धि विकासमा प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट लोकरत्ना ज्ञवालीले अस्पतालको भैतिक, जनशक्ति तथा सेवा प्रवाहको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले आगामी दिनमा अस्पतालमा प्रयोगशालाको थप व्यवस्थापन गर्ने, प्रशासनलाई चुस्त दुरुस्त गराउने, शल्यक्रियाको सुरुवात गर्ने, पिसीआर प्रयोगशालाको प्रयोगको सम्भावना अध्ययन गर्ने, विशेषज्ञ सेवा संचालनका लागि जनशक्ति व्यवस्थापन तथा नयाँ भवनका लागि जग्गा व्यवस्थापन गरिने जस्ता विषय योजनामा रहेको विषयमा जानकारी गराउनुभयो ।
स्वास्थ्य निर्देशनालयका डा.अचुत शर्मा न्यौपानेले पाल्पा अस्पतालको सेवा प्रभाव र भैतिक पूर्वाधारको अवस्थाको मुल्याँकनबाट प्राप्त नतिजा सार्वजनिक गर्नुभयो । उहाँले पुरानो भवनबाट व्यवस्थित रुपमा सेवा प्रवाह गरेकोले न्यूनतम सेवा मापदण्डका समग्र सूचकको मुल्याँकनमा ६४ प्रतिशत अंक प्राप्त गरेको जानकारी गराउनुभयो । अधिकांश कुरा राम्रा भएपनि सुशासन, पूर्वाधार विकास र सेवा प्रवाहका विषयमा डा.शर्माले सुधारका लागि सुझाव समेत राख्नुभएको थियो ।
अस्पतालका अध्यक्ष गुराँस आत्रेयले सरकारी अस्पताललाई सुविधा सम्पन्न गराउन सकेको खण्डमा गरिव जनताले सहज र सुलभ रुपमा स्वास्थ्य सुविधा प्राप्त गर्ने वातावरण बन्ने बताउनुभयो । उहाँले आफूहरुले अहिलेकै अवस्थाबाट सकेसम्म गुणस्तरीय सेवा दिने प्रयास गरिएको समेत बताउनुभयो । विशेषज्ञ चिकित्सक नभएकोले तत्लो तहको जनशक्तिबाट अस्पताल चलाउनुपर्ने अवस्था रहेको अध्यक्ष आत्रेयको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अस्पतालको क्षमता अनुसार सुधार गर्नुपर्ने विषयलाई ध्यानमा दिएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालकाे नयाँ भवन निर्माणका लागि जग्गा व्यवस्थापनकाे काममा आफ्नो पक्षबाट आवश्यक सहजीकरण गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले पाल्पा अस्पतालको सेवा स्तरीय बनाउन सबैभन्दा पहिला भौतिक पूर्वाधार व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भवन निर्माणका लागि पटक पटक बजेट आउने र फिर्ता हुने अवस्था भैरहदाँसम्म जग्गा टुंगो लगान नसक्नु जिल्लाका राजनीतिक दल, अस्पताल नेतृत्वको कमजोरी भएकोले यस विषयमा गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । करूवा पत्रिकाबाट