निस्दी । पाल्पाकाे निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुरको मध्यबिन्दु नगरपालिका–१४ जोडने एक सय ७५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने रिपाहा घाटमा बनेको झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएपछि उद्घाटन भएपछि लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
प्रदेश सभा सदस्य श्रेष्ठले रिपाहा घाटको समस्यको अवलोकन गर्दा झोलुङ्गे पुलको आवस्यक रहेको र सोही अनुसार पुल निर्माणमा पहल गरेको प्रदेश सभा सदस्य श्रेष्ठले बताउनुभयो । उहाँले पुलले दुई प्रदेशको सम्बन्धलाई थप बलियो बनाउनुका साथै जनताको आर्थिक समृद्धिमा मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पुलको निर्माणले निस्दी र मध्यबिन्दुका जनतालाई आवतजावत गर्न सहज हुनुका साथै अरुणखोला वारीपारी रहेका खेतीयोग्य जमिनको सदुपयोगमा सहयोग पुग्ने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । मध्यबिन्दु १४ का वडा अध्यक्ष मीनबहादुर दर्लामीले स्थानीयको समस्यालाई पहिचान गरी निर्माण भएको झोलुङ्गे पुलले ठुलो राहत दिएको बताउनुभयो ।
पुल निर्माणले निस्दीको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र मध्यबिन्दुको झोलुङ्गे, सारुडाँडा, द्वारी आसपासका उपभोक्तालाई सहज हुने निस्दी ४ का वडा अध्यक्ष सन्तवीर सुनारीले जानकारी दिनुभयो । समयमै निर्माण कम्पनीले काम सम्पन्न गर्दा पुल नहुँदा हिडडुलमा समस्या खप्दै आएका नागरिकलाई अहिले दैनिक कार्य गर्न सहज भएको स्थानीयवासीको भनाइ छ ।
निस्दी गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेका अनुसार शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले पुल निर्माणका लागि भ्याटसहित एक करोड ८४ लाख ८९ हजार ३ सय १६ रुपैयाँमा ठेक्का आह्वान गरेको थियो । जसमा निर्माण कम्पनी तामाकोशी जेके जेभीले २०७९ असार २४ गते २०८१ कार्तिक भित्रमा सम्पन्न गर्ने गरी एक करोड ३७ लाख ६७ हजार ९सय रुपैयाँमा सम्झौता गरी पुल निर्माण कार्य गरिएको हो । करुवा पत्रिकाबाट