रानीमहल दरबारको जग कटान रोक्न सांसद गैरेको पहल

तानसेन । पाल्पाको एतिहासिक तथा पर्यटकीय गन्तव्य रानीमहल दरबारको जगमा कालीगण्डकी नदीले गरेको कटान रोक्न पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरेले पहल गर्नुभएको छ । कालीगण्डकी नदीको बहावले दरबारको जग रहेको चट्टान काटेर भ्वाङ पार्दै गएपछि रानीमहल दरबार जोखिममा परेको छ ।

दरबार जोखिममा रहेकोले कटान रोक्न आवश्यक मर्मत र पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा सांसद गैरेले सदनमा समेत कुरा उठाउनुभएको थियो । सांसद गैरेसहित जनताको तटबन्ध कार्यालय बुटवलका प्रमुख शम्भुराज पण्डित र इन्जिनियरको टोलीले जोखिम न्यूनीकरणका लागि दरबारको जगको अवस्था बारे स्थलगत अवलोकन समेत गरेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा रानीमहल दरबारको जग कटान रोक्न आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट रानीमहल जग सुरक्षाका लागि तटबन्धन कार्यक्रम अन्तरगत एक करोड बजेट विनियोजन भएको छ । तत्काल कामको थालनी गर्न बजेट विनियोजन भएको छ । जोखिम रोक्ने उपायबारे खोजी गरेर पूर्णरूपमा मर्मतका लागि आवश्यक थप बजेटका लागि आफूले पहल गर्ने सांसद गैरेको भनाइ छ ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनुभएका गैरेले समयमै दरबारको जगको मर्मत नगरेमा रानीमहल दरबार भत्कने जोखिम रहेको बताउनुभयो । उहाँले रानीमहल दरबारको संरक्षण र व्यवस्थानका साथै सञ्चालनमा तीन तहका सरकार र पुरातत्व विभाग जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अवलोकनमा गएको टोलीले कालीगण्डकी नदीमा पानीको सतह बढेको अवस्थामा रहेकोले पानीको सतह घटेपछि जग कटानको एकिन अवस्था पत्ता लगाउने र मर्मत कार्य अगाडि बढाउने जनताको तटबन्ध कार्यालय बुटवलका प्रमुख शम्भुराज पण्डित बताउनुभयो । उहाँले आगामी माघको अन्तिमतिर सम्बन्धित विज्ञसहित कालीगण्डकी नदीले दरबारको जग कटान गरेको ठाउँको थप अवस्था बुझेर टेण्डर प्रक्रियामा जाने जानकारी दिनुभयो । अहिले कालीगण्डकी नदीले जग कटान गर्दा दरबारको छेउतर्फको भाग भासिए र यसको मर्मत कार्य पुरातत्व विभागसँगको समन्वयमा गरिने प्रमुख पण्डितको भनाइ छ । करिब तीन वर्ष अघि गोताखोरको टोलीले पानीले कटान गरेको भ्वाङको अवस्थाबारे बुझिको थियो । त्यस समयमा रानीमहल दरबारको जग करिब ५ मिटर कटान गरेको गोताखोरको टोलीले बताएको थियो ।

तानसेन नगरपालिका १३ मा रहेको रानीमहल दरबार समयमै मर्मत सम्भार नगर्दा कुरूप बन्र्दै गएको छ । तानसेन नगरपालिकाले संरक्षण र सञ्चालनको जिम्मा पाएको रानीमहल दरबारको नियमित मर्मत नहुँदा कुरूप बनेको छ । नगरपालिकाले प्रवेश शुल्क उठाउने गरेपनि संरक्षणमा ध्यान नदिएको घुम्न पुगेका पर्यटकहरुले आरोप लगाउदै आएका छन् । वार्षिक लाखौ रुपैयाँ राजस्व संकलन गरेर आन्तरिक आम्दानी बढाएको देखाउने नगरपालिकाले दरबारको भित्तामा रंग रोगन समेत गरेको छैन । सामाजिक सञ्जालमा व्यापक गुनासो आएपछि रंग रोगन गरेजस्तो गर्ने नगरपालिकाले पछिल्लो समय आम्दानी अनुसार दरबारको संरक्षणमा ध्यान दिन सकेको छैन । यहाँबाट संकलन भएको राजस्व यस क्षेत्रको संरक्षण र विकासमा खर्चिनुपर्ने स्थानीयवासीको माग रहेको छ । करुवा पत्रिकाबाट

सम्बन्धित खवर